संसद्‍मा कांग्रेस प्रमुख सचेतक र सांसदले पढे एउटै मन्तव्य

डिसी नेपाल
२६ असार २०८३ १८:५२

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका दुई सांसदले हुबहु एउटै भाषण पढेपछि संसद्‍मा चर्चाको विषय बनेको छ।

बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डीपी अर्यालले नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई आफ्नो धारणा राख्न समय दिएका थिए। प्रमुख सचेतक थापाले सरकारको आलोचना गर्दै प्रधानमन्त्रीमाथि कडा प्रश्न तेर्स्याइन्।

प्रमुख सचेतक थापाले प्रधानमन्त्रीले सीमा विवादको विषयमा दिएको अभिव्यक्ति र मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाप्रति आपत्ति जनाइन्। उनले सुकुम्बासी समस्या र सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै भनिन्, ‘प्रधानमन्त्रीज्यू, के राज्य यति निरीह र असफल भइसकेको हो? के आफ्ना कुरा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था आएको हो?’

उनले थपिन्, ‘यदि होइन भने यस्ता हृदयविदारक घटनाहरू पटकपटक किन दोहोरिरहन्छन्? अब कालो चस्मा खोल्ने बेला आएको छ।’ साथै, उनले साझा यातायातका हरियो बसलाई निलो रङ लगाउने सरकारी कदमको आलोचना गर्दै राज्यले नागरिकलाई न्याय, रोजगारी र सुशासन दिनुपर्नेमा जोड दिइन्।

प्रमुख सचेतक थापाले आफ्नो मन्तव्य राखिसकेपछि बोल्ने पालो पाएकी कांग्रेसकी अर्की सांसद सीता थपलियाले पनि ठिक त्यही भाषा र शैली दोहोर्‍याइन्। दुवै सांसदले कापीमा लेखिएको मन्तव्य पढेका थिए। संसदमा एकै दलका दुई सांसदले शब्दशः उस्तै भाषण गरेको दृश्यले उपस्थित सांसदहरूलाई समेत अचम्मित पारेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *