पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु

डिसी नेपाल
२६ असार २०८३ २२:२२

कास्की। पोखरा रङ्गशालामा आजदेखि यु-१६ छात्रछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता सुरु भएको छ। विद्यालय तहदेखि राष्ट्रका लागि आवश्यक क्षमतावान ह्याण्डबल खेलाडी उत्पादन गर्दै खेलको आधार बलियो बनाउने लक्ष्यसहित गण्डकी प्रदेश ह्याण्डबल सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा प्रतियोगिता सुरु भएको हो।

पहिलो दिन छात्रतर्फ छ र छात्रातर्फ चार गरी १० खेल सम्पन्न भएका आयोजकले जनाएको छ। यही असार २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ‘लिग कम नकआउट’ प्रणालीमा भएको प्रतियोगिताअन्तर्गत छात्रतर्फ १३ र छात्रातर्फ नौ टोलीको सहभागिता छ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेलकुदको विकास र खेलाडीको संरक्षणका लागि परिषद् प्रतिबद्ध रहेको बताए। उनले परिषद्ले निर्माण गरेका खेलकुद नीतिहरू राष्ट्रियस्तरमा अनुकरणीय बन्दै गएका उल्लेख गर्दै यही असार ३० गते खेलाडी तथा खेलसम्बन्धी सङ्घसंस्थालाई नगदसहित सम्मान गरिने जानकारी दिए।

“खेल क्षेत्रमा हामीले लिएको नीतिले खेलकुद विकासमा योगदान पुगेको छ। खेलकुद प्रतियोगिता तथा खेलाडी सम्मानले नयाँ खेलाडी उत्पादन र खेलाडीमा थप उत्साह र प्रेरणा मिल्ने विश्वास छ”, शर्माले भने। खेलाडी तथा खेलसम्बन्धी सङ्घसंस्थाको योगदानको कदर गर्दै प्रदेश खेलकुद पदक प्रदान गरिने जनाउँदै उहाँले जुनियर तथा सिनियर खेलाडीका लागि रोजगारीका अवसर सृजना गर्न सम्बन्धित निकायसँग आग्रह गरे।

गण्डकी प्रदेश ह्याण्डबल सङ्घका अध्यक्ष केशव पाठकले विद्यालयस्तरबाटै प्रतिभावान खेलाडीको पहिचान, क्षमता विकास र प्रतिस्पर्धात्मक वातावरण सृजना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगिताका विजेता छात्र तथा छात्रा टोलीले समान नगद रु २५ हजार, उपविजेताले रु १५ हजार र तेस्रो हुने टोलीले रु १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही रु तीन हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *