असन बजारको बदलिँदो रूप: भीडभाड घटेपछि ऐतिहासिक व्यापारिक केन्द्र सुनसान बन्दै

डिसी नेपाल
२७ असार २०८३ १७:२१

काठमाडौं। कुनै समय बिहानैदेखि साँझसम्म किनमेल गर्ने मानिसको अत्यधिक भीडले खुट्टा हाल्ने ठाउँ नहुने काठमाडौँको ऐतिहासिक असन बजार पछिल्लो समय बिस्तारै सुनसान देखिन थालेको छ।

बाह्य तथा आन्तरिक पर्यटकको आगमनमा आएको सुस्ती र रैथाने ग्राहकको चहलपहल घट्दै गएपछि यस ऐतिहासिक एवं पुरातात्त्विक व्यापारिक केन्द्रको पुरानो रौनकमा निकै कमी आएको हो।

साँघुरा र गल्तीभित्रका परम्परागत पसल, रैथाने जडीबुटी, मसला र दैनिक उपभोग्य सामानका लागि परिचित असनमा पहिले दैनिक हजारौँ मानिसको आवतजावत हुने गर्थ्यो। उपत्यका र आसपासका क्षेत्रबाट सामान किन्न आउनेहरूको पहिलो रोजाइमा पर्ने असनको व्यापारिक विरासतलाई अहिले आधुनिक बजारले चुनौती दिइरहेको छ।

पछिल्ला दिनहरूमा पर्यटकको संख्यामा आएको गिरावट, प्रविधिको विकाससँगै फस्टाउँदो अनलाइन किनमेलको बढ्दो प्रभाव, उपभोक्ताको बदलिँदो बानी र सहरका अन्य विभिन्न आधुनिक व्यापारिक केन्द्रहरूको तीव्र विस्तारले असनको परम्परागत व्यापारमा ठूलो धक्का पुऱ्याएको छ।

मानिसहरू घरमै बसेर सामान अर्डर गर्न थालेपछि र पायक पर्ने ठाउँमै नयाँ बजारहरू खुलेपछि असनका पुराना व्यापारीहरू ग्राहक कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *