काठमाडौं केन्द्रित मिटरब्याज विरुद्धको ‘न्याय मार्च’ चौथो दिनमा, लालबन्दीबाट अघि बढ्दै

डिसी नेपाल
२८ असार २०८३ ११:३५

काठमाडौं। मिटरब्याजी र अनधिकृत तमसुकधारीहरूको शोषणविरुद्ध न्यायको माग गर्दै सुरु भएको पीडितहरूको काठमाडौं केन्द्रित पैदल ‘न्याय मार्च’ चौथो दिनमा प्रवेश गरेको छ।

असार २५ गते जनकपुरधामबाट हिँडेका मिटरब्याज पीडित तथा किसानहरू शुक्रबार सर्लाहीको लालबन्दीबाट आफ्नो यात्रालाई निरन्तरता दिँदै अगाडि बढेका हुन्। राज्यलाई आफ्ना समस्याप्रति ब्युँझाउन, मिटरब्याजीलाई कडा कारबाही गर्न र पीडितहरूको हकअधिकार पूर्ण रूपमा स्थापना गराउन यो दबाबमूलक यात्रा सुरु गरिएको हो।

काठमाडौं पुगेर सरकारलाई आफ्ना मागहरू नसुनाएसम्म यो आन्दोलन र यात्रा कुनै पनि हालतमा नरोकिने अडान आयोजक तथा पीडितहरूले राखेका छन्।

मिटरब्याज विरुद्धको किसान-मजदुर संघर्ष समितिको अगुवाइमा भएको यस पैदल यात्रामा मधेशका विभिन्न जिल्लाका सयौँ पीडित महिला, वृद्धवृद्धा तथा बालबालिकाहरू सहभागी छन्।

पैदलयात्रीहरू गाँस र बासको आफ्नै बन्दोबस्त गर्दै प्रत्येक दिन करिब २० देखि २६ किलोमिटरसम्मको दुरी पार गरिरहेका छन्।

चर्को गर्मी र वर्षाको समेत पर्वाह नगरी न्यायको खोजीमा हिँडेका उनीहरूले विगतमा सरकारसँग भएका सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने र फर्जी तमसुकहरू खारेज गरिनुपर्ने मुख्य माग अघि सारेका छन्। राजमार्ग हुँदै अघि बढेको यो टोली विभिन्न जिल्ला छिचोल्दै केही दिनभित्रै संघीय राजधानी काठमाडौं प्रवेश गर्ने तयारीमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *