दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर, केही दिन चिकित्सकको निगरानीमा राखिने
काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर रहेको छ। उनको उपचारमा संलग्न अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यमा कुनै नयाँ समस्या नदेखिएको जानकारी दिएको हो।
अस्पतालका अनुसार, मस्तिष्कमा देखिएको ट्युमरको असार २३ गते सफल शल्यक्रिया गरिएको थियो। चिकित्सकहरूले ट्युमर पूर्ण रूपमा निकालिएको पुष्टि गरेका छन्।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था स्थिर छ। केही दिन अस्पतालमै राखी विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार जारी राखिनेछ।’ ट्युमरको प्रकृति र आगामी उपचार प्रक्रियाबारे थप परीक्षण रिपोर्ट आएपछि परिवारलाई जानकारी गराइने अस्पतालले जनाएको छ।
अस्पतालले स्वदेशमै उपचारप्रति विश्वास व्यक्त गरेकोमा दीपाश्री र उनको परिवारप्रति आभार प्रकट गरेको छ। साथै, दीपाश्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभेच्छुक, सञ्चारमाध्यम तथा आम नागरिकबाट प्राप्त सद्भावप्रति पनि अस्पतालले धन्यवाद व्यक्त गरेको छ। दीपाश्री चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कनका क्रममा बिरामी परेकी थिइन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment