कुशल भुर्तेलको शतक र हेमन्त धामीको ४ विकेट: नेपालद्वारा जर्सी ८१ रनले पराजित
काठमाडौँ। ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकीय इनिङ्स र तीव्र गतिका बलर हेमन्त धामीको धारिलो बलिङको मद्दतले नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय खेलमा ८१ रनको सानदार जित हात पारेको छ।
जर्सी भ्रमणमा रहेको नेपाली टोलीले प्रस्तुत गरेको २ सय ५१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा घरेलु टोली जर्सी ४१ ओभरमा मात्र १ सय ६९ रनमा अलआउट हुन पुग्यो। जर्सीका लागि मध्यक्रमका ब्याट्सम्यान चार्ली ब्रेननले ८२ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई उकास्ने प्रयास गरे पनि अन्य ब्याट्सम्यानहरूले नेपाली बलरसामु क्रिजमा टिकेर उल्लेख्य प्रदर्शन गर्न नसक्दा घरेलु टोली सस्तैमा समेटियो।
जर्सीको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा नेपालका युवा तीव्र गतिका बलर हेमन्त धामीले घातक बलिङ गर्दै महत्वपूर्ण ४ विकेट लिए। उनलाई अन्य बलरहरूले पनि बलियो साथ दिए, जसमा आरिफ शेखले ३ विकेट चट्काए भने अनुभवी बलर करण केसीले २ र स्पिनर सन्दीप लामिछानेले १ विकेट आफ्नो नाममा गरे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५० रनको सम्मानजनक योगफल खडा गरेको थियो। नेपालको सुरुवात बलियो बनाउने क्रममा ओपनर कुशल भुर्तेलले १ सय ५ रनको सानदार शतकीय योगदान दिए।
मध्यक्रममा भीम सार्कीले ३९ रन जोडेर इनिङ्सलाई सम्हाले भने तल्लो क्रममा नवौँ नम्बरमा ब्याटिङ गर्न आएका हेमन्त धामीले १९ रनको महत्त्वपूर्ण अविजित पारी खेल्दै टोलीको स्कोर २५० सम्म पुर्याएका थिए। अन्य ब्याट्सम्यानहरूमा आसिफ शेखले १६, कप्तान रोहित पौडेलले १५, आरिफ शेखले ११ र ईशान पाण्डेले मात्र १ रन जोडेका थिए। यस जितसँगै नेपालले शृङ्खलामा १–० को अग्रता लिएको छ भने जर्सी भ्रमणअन्तर्गतको दोस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार खेलिनेछ।






डिसी नेपाल





Facebook Comment