अब नागरिक एपबाटै देशभरको रगतको मौज्दात ‘रियल टाइम’ मा हेर्न सकिने
काठमाडौं। सरकारी सेवाहरूलाई डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको नागरिक एपमा नयाँ सुविधा थपिएको छ, जसअनुसार अब प्रयोगकर्ताहरूले एपमार्फत नै देशभर उपलब्ध रगतको विस्तृत विवरण हेर्न सक्ने भएका छन्।
नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल समावेश गरिएसँगै आम नागरिकले विभिन्न रक्तसञ्चार केन्द्रहरूमा कुन रक्त समूहको रगत कति युनिट मौज्दात छ भन्ने जानकारी वास्तविक समय (रियल टाइम) मा प्राप्त गर्न सक्ने छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार यो नयाँ सुविधामार्फत देशभरका सबै रक्तसञ्चार केन्द्रहरूमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात अब एकै स्थानबाट सजिलै हेर्न सकिनेछ।
स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने सरकारको उद्देश्यअनुरूप यो महत्त्वपूर्ण सेवालाई नागरिक एपमा एकीकृत गरिएको हो।
यो डिजिटल सेवाको सुरुवातसँगै आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बाध्यतामा रहेका बिरामी तथा उनीहरूका आफन्तलाई आवश्यक जानकारी निकै छिटो र सहज रूपमा प्राप्त हुने विश्वास गरिएको छ।
यसका साथै नयाँ प्रणालीले मुलुकको समग्र रक्त व्यवस्थापन कार्यलाई थप सहज बनाउनुका साथै विभिन्न स्वास्थ्य संस्था र रक्तसञ्चार सेवाहरूबीचको आपसी समन्वयलाई समेत अझ सुदृढ तुल्याउने अपेक्षा गरिएको छ।






डिसी नेपाल





Facebook Comment