वैदेशिक रोजगार विभागको सक्रियता: १९ नयाँ मुद्दा दर्ता र ५६ जना विरुद्ध पक्राउ पुर्जी जारी, चार नेपालीको उद्धार

डिसी नेपाल
३१ असार २०८३ ७:३६

काठमाडौं। वैदेशिक रोजगार विभागले मुद्दा अनुसन्धान, म्यानपावर कम्पनीहरूको अनुगमन, पीडितको उद्धार तथा जनगुनासो सुनुवाइ लगायतका क्षेत्रमा आफ्नो सक्रियतालाई तीव्र पारेको छ। विभागले सार्वजनिक गरेको असार ३० गतेको कार्यप्रगति विवरण अनुसार यस अवधिमा ठगी तथा कानुनी उल्लंघनका क्षेत्रमा उल्लेखनीय कारबाहीहरू भएका छन्।

विभागको मुद्दा तथा अनुसन्धान शाखाले एकै दिन १९ वटा नयाँ मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ। यस क्रममा ठगी कार्यमा संलग्न ६ जनालाई पक्राउ गरी विभागमा उपस्थित गराइएको छ भने वैदेशिक रोजगारीका नाममा ठगी गरेर फरार रहेका ५६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

यसका साथै थप ३३ जनालाई पक्राउ गर्न अनुमति दिइएको छ भने आपसी सहमतिमा ८ वटा मुद्दाको मिलापत्र गराइएको छ। कानुनी कारबाहीलाई चुस्त बनाउन शाखाले बैंकहरूलाई पठाइएका पत्र, अभियोग पत्र र राय पत्र सहित कुल १४१ वटा पत्रहरू चलानी गरेको छ।

अनुगमन र गुनासो सम्बोधनका क्षेत्रमा पनि विभागको संस्था अनुगमन शाखा निकै सक्रिय देखिएको छ। शाखाले यस अवधिमा ३ वटा राहदानी वितरण गर्नुका साथै ७ वटा नयाँ उजुरी निवेदनहरू दर्ता गरेको छ। विभिन्न म्यानपावर कम्पनीहरूलाई आवश्यक निर्देशन र स्पष्टीकरणका लागि ४ वटा पत्राचार गरिएको छ भने फोन मार्फत प्राप्त भएका ७ वटा गुनासोहरूलाई तत्कालै समाधान गरिएको छ।

आम सर्वसाधारण र सेवाग्राहीको गुनासो व्यवस्थापन गर्ने सन्दर्भमा विभागको कल सेन्टरमा प्राप्त भएका ६६ वटा गुनासो मध्ये ६५ वटाको तत्कालै फछ्र्यौट गरिएको छ। यसैगरी हेलो सरकार प्रणाली मार्फत प्राप्त भएका ६ वटा गुनासो मध्ये ५ वटाको सफल समाधान गरिएको छ भने बाँकी एउटा असम्बन्धित गुनासोलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको विभागले स्पष्ट पारेको छ।

राहत, उद्धार तथा समन्वयको पाटोमा पनि विभागले महत्त्वपूर्ण सफलता हात पारेको छ। विभागको राहत, उद्धार तथा समन्वय शाखामा २ वटा नयाँ उजुरी दर्ता भएका छन्। शाखाको विशेष पहल र सक्रियतामा वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका तथा समस्यामा परेका ४ जना नेपाली नागरिकको उद्धार गरिएको छ।

यसैगरी पीडितहरूलाई न्याय दिलाउने क्रममा ३ वटा क्षतिपूर्ति सम्बन्धी कार्यहरू सम्पन्न गरिएका छन् भने समस्या समाधानका लागि सरोकारवाला पक्षहरूबीच ६ वटा दुईपक्षीय छलफलहरू समेत सञ्चालन गरिएका छन्। संस्था दर्ता तथा सञ्चालन व्यवस्थित गर्ने प्रक्रिया अन्तर्गत विभागले आजै ५१ वटा म्यानपावर कम्पनी र १४ वटा पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूको नवीकरण कार्य सम्पन्न गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *