वाग्मती नदीको कटानले टौदह र आसपासका बस्ती संकटमा, सीमांकन विवादले तटबन्ध अलपत्र
कीर्तिपुर। उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक कीर्तिपुर नगरपालिका-६ स्थित ऐतिहासिक टौदह क्षेत्र वाग्मती नदीको तीव्र कटानका कारण उच्च जोखिममा परेको छ।
वाग्मतीले विगत दुई वर्षदेखि आफ्नो प्राकृतिक धार परिवर्तन गरी पश्चिमी किनारातर्फ माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका बस्तीहरू जोखिममा परेका हुन्।
नदीको धार टौदह क्षेत्रतर्फ सोझिँदा तालको अस्तित्वमाथि नै प्रश्न उठ्न थालेको छ। स्थानीयवासी मिलन खड्काका अनुसार नदीको कटान टौदहको डिलसम्म आइपुगेको छ।
अहिले नै टौदहको पूर्वतर्फका कान्लाहरूबाट पानी चुहिन थालिसकेको र समयमै कटान नियन्त्रण नगरिए टौदहको ऐतिहासिक र पर्यटकीय अस्तित्व नै संकटमा पर्ने देखिन्छ।
विकासको असन्तुलन र भू-बनोटमा असर
नदीको पारिपट्टि पर्ने ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्र जोगाउन बलियो पर्खाल लगाएपछि वाग्मतीको बहाव पश्चिमतर्फ मोडिएको र यसले कीर्तिपुरतर्फको किनारमा मात्र एकोहोरो कटान गरिरहेको स्थानीयको गुनासो छ।
यसका साथै पश्चिमतर्फ पनि कीर्तिपुर नगरपालिका-४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले उत्तिकै कटान गरिरहेको छ।
उक्त खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाए पनि कीर्तिपुर नगरपालिकाका तर्फबाट तटबन्धको कुनै पहल नहुँदा कटान रोकथामको काम प्रभावकारी हुन नसकेको अर्का स्थानीय अन्जिल खड्काले बताउनुभयो। तीनवटा स्थानीय तहको सीमा जोडिएको र समन्वय अभाव हुँदा यो समस्या बल्झिँदै गएको छ।
रेखांकन र सीमांकनको लफडाले बजेट फ्रिज
वाग्मती नदीको कटानबाट टौदह र बस्तीलाई जोगाउन विभिन्न सरकारी निकायहरूले तटबन्ध तथा टेवा पर्खाल निर्माणका लागि वर्षेनी बजेट छुट्याउने गरेका छन्। तर, नदी र बस्तीको वास्तविक सीमा रेखा कहाँसम्म हो भन्ने यकिन नहुँदा विनियोजित बजेट कामै नभई फ्रिज हुने गरेको छ।
स्थानीयहरूले पटक-पटक ‘अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति’ सँग स्थलगत सीमांकन गरिदिन माग गरे पनि आजसम्म सुनुवाइ हुन सकेको छैन।
स्पष्ट सीमांकन र प्राविधिक रेखांकन नभएका कारण ठेक्का लागे पनि निर्माण व्यवसायीहरूले काम सुरु गर्न मानिरहेका छैनन्। पर्यटकीय सम्पदा टौदह र सयौँ नागरिकको थातथलो जोगाउन सरोकारवाला निकायले तत्काल ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।






डिसी नेपाल





Facebook Comment