कविता : हेर जमाना

भूमिका गैरे तिमिल्सिना
२ साउन २०८३ ७:५४

तन्त्रको गतिलो झापड टेकिएको छ देशमा

युग परिवर्तनको आशा मेटिएको छ रेसमा

उछिन्नु किन जनको भावनासँग नखेल

निर्धनको त्यो लाचारी देखिएको छ फेसमा।

अन्याय चरम भए फेरि आवाज चर्कनेछ

पीडाका शब्दपुञ्ज गोला बारुद बर्सनेछ

अन्धभक्त होइनौँ केवल समर्थन हो बुझ

विश्वास जनको तोड्दा आफ्नै बोली सर्कनेछ।

पीडा कह्यो नबुझ्दा देहमा पेट्रोल छर्कियो

श्रमिकको मर्म नबुझ्दा हरकोही झर्कियो

भरोसाको दियो निभ्ला बुझ हरएक मनबाट

न्याय गर्न नसक्दा विश्वासको मियो घर्कियो।

न्यायमूर्ति सुन् मनका पीडा कसलाई कहून्

चोटमाथि चोट नदेऊ ऐया कसलाई भनून

पाशविक व्यवहार भो निन्दनीय भयो कर्म

बहिरो भयो शासन विलाप कसलाई गरून्।

ओइरो हाल पहिरो झर्ला बनाऊ नीति त्यस्तै

सर्वहाराको आँसुले पोल्ला सपार विधि उस्तै

आँफू राखी हेर ठाउँमा लाग्छ थिती बस्न पनि

दायरा बढाऊ दीनताको ल्याऊ निधी मस्तै।

कविता : नववर्ष

ऊ त हाँस्दै आएछ

विचित्रले ऊ आएछ

कति मीठो मुस्कान

सजाउँदै आएछ।

अतितका काला पाना

नपल्टाउँ है भन्छ

फर्केर पो पछाडि

नहेर है ऊ भन्छ।

पालुवा वसन्तका

नयाँ उमङ्ग साथ

हेर कति खुसीको

बिहानी लाली आएछ।

हाँसो खुसी र कान्ति

छाओस् है मुहारमा

हर्ष उल्लास उमङ्ग

लिएर ऊ आएछ।

शुभकामना सन्देश

वालमा सजाउँदै

माया प्रेम सद्भाव

बोकेर ऊ आएछ ।

चित्र विचित्र रङ

घोलेर ऊ आएछ

नववर्षको आशा

भिरेर ऊ आएछ।

फलोस् फुलोस् जीवन

पवित्र यो धरामा

मधुर प्रेमिल हुँदै

फिरेर ऊ आएछ।

बैगुनीका गुन सबै

तिरेर ऊ आएछ

बाधा अवरोध सारा

चिरेर ऊ आएछ।

ढकमक्क आँगन

रङ्गिन फुलेसरि

सुनौलो त्यो सुगन्ध

लिएर ऊ आएछ।

मगमग बास्नाले

धरा सुगन्धित भो

इत्तरको मिठास

लिएर ऊ आएछ।।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *