सांसद र मेयरपछि उजुरीकर्ता शर्माविरुद्ध पनि पक्राउ पुर्जी जारी

डिसी नेपाल
१ साउन २०८३ १७:५३

कपिलवस्तु । कपिलवस्तुमा सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहविरुद्ध उजुरी दिने कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

सांसद शाह र नगर प्रमुख शाहविरुद्ध कुटपिटको आरोप लगाउँदै शर्माले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतबाट पक्राउ पुर्जी लिएको थियो। पक्राउ पुर्जी जारी भएपछि सांसद र मेयर दुवै सम्पर्कविहीन बनेका छन्। यता, शुक्रबार बिहानदेखि उजुरीकर्ता शर्मा आफैँ पनि सम्पर्कविहीन भएपछि प्रहरीले उनीविरुद्ध पनि ‘आपराधिक उपद्र’ मुद्दामा पक्राउ पुर्जी लिएको हो।

असार २८ गते भएको घटनामा आफ्नो योजनामा १५/२० जनाको समूहले आक्रमण गरेको भन्दै शर्माले सांसद र नगर प्रमुखविरुद्ध किटानी जाहेरी दिएका थिए। घटनापछि सांसद र मेयरका समर्थकहरूले कृष्णनगर बजार क्षेत्र बन्द गराएका छन् भने उद्योग वाणिज्य संघले त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख मनोहर प्रसाद भट्टले तीनै जना आरोपितहरूको खोजी कार्य जारी रहेको र हालसम्म कोही पनि पक्राउ नपरेको जानकारी दिए।

यसैबीच, दर्ता गरिएको मुद्दा फिर्ता लिन माग गर्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई एक समूहले ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा असार २८ गतेको घटनालाई राजनीतिक प्रतिशोध साध्न प्रयोग गरिएको र सांसद तथा मेयरमाथि लगाइएको आरोप झुटा भएको दाबी गरिएको छ।

साथै, उजुरीकर्ता शर्माले यसअघि अदालत र प्रहरीमा दिएको बयानमा आफू डिप्रेसनको औषधि सेवन गरिरहेको उल्लेख गरेको भन्दै, सोही आधारमा काल्पनिक घटना सिर्जना गरी राजनीतिक स्वार्थपूर्तिका लागि मुद्दा अघि बढाइएको दाबी ज्ञापनपत्रमा गरिएको छ। मुद्दा फिर्ता नलिए र धरपकड जारी राखे शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *