कविता : ओ धरती पुत्र !
उफ्रेर मन
थचक्क थिचिएको छ
बेमौसमी बाजाहरू बज्छन्
समय खिज्याउँछ मलाई
युद्धमा पराजित भएको सैनिक जस्तो
हतियारविहीन हिँडिरहेछु लुरुलुरु म।
मैले आस्थाको युद्ध जित्नु छ
कर्कलाको पानी जस्तो हो भन्छन् जिन्दगी
त्यही कर्कलाको पानी पिएर
आस्थाको युद्ध लडिरहेछु म।
मैले जितेको देख्न नचाहनेहरू
लामबद्ध भएर
मेरो खुट्टा तान्छन्
म प्रतिवाद गर्छु
जिन्दगी प्रिय लाग्छ
तिनीहरूलाई घचेटेर
कायल बनाई
जिन्दगीको कथा लेख्छु।
म हेपिएर बाँचेँ जुगौँसम्म
मेरा बा ऋणले थिचिएर मरे
मेरी आमा भोकले तड्पिएर मरिन्
भाइबैना सुकेनासले गाँजेर मरे
कहालीलाग्दो जीवनयात्रा लिएर
म निरन्तर उकालो चढिरहेँ।
मैले अनेकौँ हण्डर र दुःख पचाएको छु
मैले अनेकौँ खण्डहर जीवन पढेको छु
मैले अनेकौँ प्राप्तिहरू गुमाएको छु
मलाई ढिकीमा कुट्नेहरू
मलाई जाँतोमा पिँध्नेहरू
थकित भएका छन्
म ढिकीमा नकुटिएपछि
म जाँतोमा नपिँधिएपछि।
तिनीहरू स्वर्गको बयान गर्छन्
म नारकीय जीवनको बयान गर्छु
मेरो मन चसक्क दुख्छ
मेरो कुरा हाँसोमा उडाएपछि
आइतीमायाहरू रोइरहेछन्
काख रित्तो भएपछि
फत्तेमानहरू झोक्राइरहेछन्
छोराछोरीको चिहान नचिनेपछि।
म सामूहिक चिहानमाथि उभिएको छु
राता झन्डाहरू लिएर
म झन्डा अर्पण गरेपछि
प्रतिबद्धताको मुठ्ठी उठाउँछु
अन्तर्राष्ट्रिय गीत गुनगुनाउँदै
म गौरवान्वित हुन्छु
मेरो शक्ति क्षीण भएको छैन
ओ धरती पुत्र !
तिमीले देखाएको मार्ग भत्किएको छैन
म त्यही मार्ग पछ्याइरहेछु।
ठेगाना: सुन्दरहरैँचा-०६, दुलारी, मोरङ












Facebook Comment