नगेन्द्रराज शर्मा, अभिव्यक्ति र साहित्य

ज्ञानेन्द्र विवश
२ साउन २०८३ ७:४४

नेपाली साहित्यको एउटा सिङ्गो आकाश, जसले आधा शताब्दीभन्दा बढी समयदेखि साधनाको छहारी दिइरह्यो, आज त्यही छहारी स्तब्ध भएको छ। ‘अभिव्यक्ति’ का अनवरत सारथि, नेपाली साहित्यिक पत्रकारिताका आदर्श नगेन्द्रराज शर्मा नेपाली ‘अक्षर-संसार’ लाई रित्तो बनाएर महाप्रस्थान हुनुभएको छ।

८९ वर्षको अथक जीवन-यात्रा र २०२७ सालदेखि अविराम बगेको ‘अभिव्यक्ति’ को त्यो अविच्छिन्न धारा अन्ततः असार ३१ गते झरी परिरहेको उदास बिहानीसँगै उहाँको सम्पादकीय कर्मको विसर्जनसँगै टुङ्गिएको छ। उहाँ लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो भने पछिल्लो समय उहाँलाई कलेजोसम्बन्धी समस्या पनि देखिएको थियो।

मेरो लेखनको आफ्नै एउटा ‘मौन धुन’ छ- जहाँ अक्षरहरू हतारिएर होइन, हृदयको गहिराइमा अनुभूत भएर शब्दमा रूपान्तरित हुन्छन्। आज उहाँको यो भौतिक बिदाइले मेरो त्यही मौन धुनलाई झङ्कृत गराएको छ, जहाँ पीडा शब्दमा भन्दा बढी शून्यतामा प्रतिध्वनित भइरहेछ।

नवप्रतिभालाई डोर्‍याउने एउटा जीवन्त संस्था

नगेन्द्रराज शर्मा नेपाली साहित्यका कैयौँ पुस्तालाई प्रेरणादायी आशीर्वादले डोर्‍याउने एउटा जीवन्त संस्था हुनुहुन्थ्यो। जसरी एउटा शालीन रुखले आफ्नो छहारीमा शीतल हावा मात्र दिँदैन, अनेकौँ चराचुरुङ्गीलाई गुँड लगाउने ऊर्जा दिन्छ, उहाँले पनि ‘अभिव्यक्ति’ मार्फत सयौँ नवप्रतिभाहरूलाई नेपाली साहित्यको मूलधारमा स्थापित गराउनुभयो।

उहाँ कुशल सम्पादक मात्र हुनुहुन्नथ्यो, २०२८ सालमै उहाँको ‘महापुरुष’ र अर्को वर्ष २०२९ सालमा ‘दिवास्वप्न’ उपन्यास छापिएको थियो। ‘पिपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ जस्ता गम्भीर आख्यानका शिल्पी पनि उहाँ नै हुनुहुन्थ्यो।

आधा शताब्दीभन्दा लामो समय एउटै निष्ठामा बाँचिरहनु र एउटा साहित्यिक पत्रिकालाई निरन्तरता दिनु कुनै सामान्य तपस्या होइन। यो त आफ्नो रगत र पसिनालाई मसी बनाएर अक्षरको मन्दिर सजाउने एउटा भगीरथ प्रयत्न थियो।

नेपाली साहित्यको इतिहासले उहाँको यो अद्वितीय योगदानलाई कदापि बिर्सिन सक्ने छैन; किनभने उहाँ जस्ता साधकहरू इतिहासका पानामा होइन, नेपाली पाठकको हृदयको पानामा कोरिएका हुन्छन् र नेपाली साहित्यिक मनहरूमा श्रद्धाको पुञ्ज बनेर रहिरहन्छन्।

विद्रूप समय र ओझेलमा परेको निष्ठा

तर, यो कस्तो अचम्मको र विद्रूप समय हो? जहाँ निष्ठा र साधनाको मूल्य कौडीको भाउमा पनि जोखिँदैन। एउटा वरिष्ठ साहित्यकार, जसले देशको भाषा र संस्कृतिलाई विश्वसामु चिनाउन आफ्नो सिङ्गो जीवन आहुति दियो, उहाँको महाप्रस्थान हुँदा केही सीमित सञ्चारमाध्यमले एउटा कुनाको सानो समाचारमा उहाँलाई खुम्च्याइदिए।

अझ दुःखद त के भने, राज्यसत्ता सञ्चालन गर्ने शासकहरू र प्रतिपक्षी दलका ठूला भनिने नेताहरू कसैलाई पनि देशको एउटा नक्षत्र अस्ताउँदा दुई शब्द शोक प्रकट गर्ने फुर्सद वा संवेदनशीलता भएन।

विडम्बनाको पराकाष्ठा त त्यतिबेला देखिन्छ, जब समाजमा कुनै भाइरल वा सनसनिपूर्ण घटना घट्दा सिङ्गो देशको सञ्चारमाध्यम, समाज र राज्यसत्ता हल्लिन्छ; तर अफसोस, राष्ट्रका लागि युगान्तकारी योगदान दिने साधकको शान्त महाप्रस्थानमा भने ‘श्रद्धाञ्जली’ र ‘समवेदना’ का शब्दसमेत विरानो बन्छन्!

अर्को ताजा विडम्बनापूर्ण घटना त्यतिबेला घटित हुन्छ, जब भर्खरै मात्र एक सामान्य नेपालीले आत्महत्या गर्दा यो देशको सञ्चारमाध्यम, समाज र राज्यसत्ता नै संवेदित भयो। सबै नेताहरूका शोक मन्तव्य ओइरिए।

आत्महत्या आफैँमा एउटा सामाजिक दुःखान्त त हो, तर के राष्ट्रका लागि सिर्जनात्मक योगदान दिने साधकको स्थान एउटा आत्महत्या गर्ने व्यक्तिभन्दा पनि कम आलोच्य वा संवेदनशील हुन्छ र?

यसले आजको समाजको एउटा तीतो यथार्थलाई छताछुल्ल पारेको छ– हामी कतै ‘भाइरल जमाना’ को ‘अन्धकुवा’ मा त खसिरहेका छैनौँ? जहाँ मूल्य, मान्यता, निष्ठा र योगदानको कुनै अस्तित्व बाँकी छैन।

आजको समयमा जतिसुकै राम्रो काम गरे पनि, समाजको चेतना उजिल्याउने काम गरे पनि त्यसको कुनै महत्त्व देखिँदैन। तर, सस्तो लोकप्रियता वा उत्तेजना क्षणभरमै राष्ट्रिय बहसको विषय बन्छ, बनिरहेको छ।

यो पनि ठ्याक्कै त्यस्तै अवस्था भयो, जहाँ अमृत जस्तो ‘दूध’ बेच्न गल्ली-गल्ली चहार्नुपर्छ, तर स्वास्थ्यका लागि हानिकारक ‘मदिरा’ किन्न ग्राहक लाइन लाग्छन्।

हामी आज सिर्जनात्मक चेतनालाई बिर्सिएर सस्तो प्रचारबाजीलाई ठीक मान्ने मानसिक तहमा ओर्लिन पुगेका छौँ। निष्ठापूर्वक पचास वर्षभन्दा बढी अक्षर फलाउने किसान गुमनाम रहन्छ, तर सस्तो चटक देखाउनेहरू राष्ट्रिय विभूति जस्ता विभूषणले विभूषित बनाइन्छन्।

व्यक्तिगत सामीप्य र ‘अभिव्यक्ति’ को गुन

समयको बहाबसँगै कतिपय सम्बन्धहरू इतिहासका पानामा यसरी कोरिएर रहन्छन्, जसलाई कालखण्डको कुनै पनि आँधीले मेट्न सक्दैन। नेपाली साहित्यका यी अथक साधक, उहाँसँग मेरो सम्बन्ध निकै पुरानो मात्र थिएन, अत्यन्तै गहिरो र पारिवारिक जस्तै आत्मीय पनि थियो।

चावहिल, मित्रपार्कस्थित उहाँको निवास मेरो लागि एउटा साहित्यिक पाठशाला र ऊर्जाको अजस्र स्रोत थियो, जहाँ म धेरै पटक पुगेको छु र उहाँको सान्निध्यमा अमूल्य क्षणहरू बिताएको छु। उहाँको जीवनको उतारचढाव र निष्ठापूर्ण साहित्यिक यात्रालाई नजिकबाट बुझ्ने र महसुस गर्ने अवसर पाउने थोरै साक्षीहरूमध्ये म पनि एक हुँ।

मेरो लेखन यात्राको त्यो प्रारम्भिक र अलमलिएको समयमा, जब म आफ्ना भावनाहरूलाई शब्दको रूप दिन सङ्घर्ष गरिरहेको थिएँ, उहाँको लोकप्रिय पत्रिका ‘अभिव्यक्ति’ ले मलाई न्याय गर्‍यो।

मेरा रचनाहरूलाई स्नेहपूर्वक स्थान दिई उहाँले मभित्रको लेखकलाई जुन उडान र प्रेरणा दिनुभयो, त्यस गुन र हार्दिकतालाई म मेरो जीवनभर बिर्सिन सक्दिनँ। उहाँ केवल छापिदिने प्रकाशक मात्र हुनुहुन्नथ्यो, एउटा सच्चा मार्गदर्शक पनि हुनुहुन्थ्यो। उहाँ बारम्बार भन्नुहुन्थ्यो:

‘लेख्नु र छापिनु मात्रै ठूलो कुरा होइन, लेखनमा आफ्नो स्पष्ट मौलिकता र बेग्लै पहिचान बनाउन सक्नु नै सबैभन्दा कुशल लेखक हुनु हो।’

उहाँको यही ‘जीवन-मन्त्र’ ले मलाई आफ्नै शैली र गोरेटो पहिल्याउन सधैँ सचेत गराइरह्यो।

साहित्यिक पुस्ताहरूलाई जोड्ने उहाँको ‘नवप्रवर्तनकारी’ सोचको एउटा बलियो कडी थियो- ‘अभिव्यक्ति भेटघाट’! २०५८ सालदेखि हरेक महिनाको अन्तिम बिहीबार आयोजना हुने सो सिर्जनात्मक जमघटले अग्रज र नवपुस्ताबीच आपसी साक्षात्कार र गम्भीर वैचारिक विमर्श गर्ने थलोको रूपमा आफूलाई स्थापित गरेको थियो। महाराजगञ्जस्थित ‘रिचमन्ट क्याफे’ को सो प्राज्ञिक चौतारीमा म पनि उत्साहका साथ सहभागी हुन्थेँ र उहाँ र उपस्थित अन्य अग्रजका गम्भीर, व्यावहारिक एवं दूरगामी कुराहरू सुन्दै आफ्नो साहित्यिक चेतलाई परिमार्जित गर्ने गर्थेँ।

अन्तिम साक्षात्कार र अमिट स्मृति

परन्तु समय कति निर्मम र अप्रत्याशित हुँदो रहेछ! उहाँसँगको अन्तिम भेटको त्यो क्षण अहिले मेरो मनमा एउटा अमिट तस्बिर बनेर बसेको छ। त्यो दिन थियो– २०८१ साल फागुन २४ गते आइतबार। नेपाल स्रष्टा समाजले नेपाली साहित्यिक पत्रकारिताका दुई शिखर पुरुष- ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका संस्थापक सम्पादक तथा प्रकाशक नगेन्द्रराज शर्मा र ‘रचना’ साहित्यिक पत्रिकाका संस्थापक सम्पादक तथा प्रकाशक रोचक घिमिरेलाई ‘रेखा-पवन सम्मान’ अर्पण गरेको थियो।

सो भव्य कार्यक्रममा निम्तो मान्न म पनि पुगेको थिएँ। त्यो उत्सवमय जमघटमा उहाँसँग भएको छोटो तर आत्मीय कुराकानी र सुखद भेटले मन प्रफुल्लित भएको थियो। त्यही उज्यालो क्षण र आदरणीय अग्रजहरूको सम्मानको सन्दर्भलाई समेटेर मैले एउटा निबन्ध पनि लेखेको थिएँ, जुन फागुन २७ गते साहित्यपोस्टमा ‘सम्मानको उज्यालो साँझ’ शीर्षकमा प्रकाशित भएको थियो।

उहाँ जीवित छँदै उहाँको विम्ब र योगदानलाई अक्षरमा ढालेर सादर अर्पण गर्न पाएको त्यो निबन्ध आज उहाँको महाप्रस्थानपछि म आफैँलाई एउटा अमूर्त एवं ऐतिहासिक ‘स्मृति–घडी’ बनेको छ।

दैवले कस्तो पर्दाभित्र लुकेर खेलिरहेको हुँदो रहेछ, कसलाई के थाहा? मित्रपार्क (केही वर्षअघि गौरीघाटमा सर्नुभएका) का चोटा–कोठा र साहित्यिक मञ्चहरूमा मुस्कुराउने उहाँको त्यो उज्यालो अनुहारसँगको त्यही नै मेरो जीवनको अन्तिम साक्षात्कार भइदिनेछ र मेरो त्यो निबन्ध उहाँलाई भेटेर लेखिएको अन्तिम ‘अक्षर–अर्चना’ बन्नेछ भनेर कसले सोचेको थियो र!

अक्षरका बिरुवाहरू जहिल्यै लहलहाइरहने छन्

आदरणीय नगेन्द्रराज शर्मा! तपाईं यो विद्रूप र भाइरल संसारबाट धेरै माथि उठिसक्नुभएको छ। राज्यले तपाईंलाई चिन्न सकेन, नेताहरूले तपाईंको श्रद्धामा शब्द खर्चिन कञ्जुस्याइँ गरे, तर तपाईंले रोपेका अक्षरका बिरुवाहरू जहिल्यै लहलहाइरहने छन्। तपाईंले सिर्जना गर्नुभएको पुस्ताले तपाईंको बिँडो थामिरहने छ।

आज उहाँको भौतिक बिदाइसँगै नेपाली साहित्यिक पत्रकारिताको एउटा बलियो खम्बा ढलेको छ। नेपाली साहित्यिक पत्रकारिता र आख्यान साहित्यमा यो अपूरणीय क्षति त हुँदै हो, तथापि उहाँको भौतिक शरीर नरहे पनि ‘अभिव्यक्ति’ को प्रत्येक पानामा, ‘पिपलको बोटमुनि’ को प्रत्येक शीतल छहारीमा ‘महापुरुष’ को आशीर्वाद र नेपाली आख्यानको गहन शिल्पमा तपाईं सधैँ बाँचिरहनुहुने छ। उहाँले छोडेर जानुभएको पदचाप, ‘अभिव्यक्ति’ ले कोरेको गोरेटो र सिकाउनुभएको मौलिकताको दर्शन नेपाली साहित्यको आकाशमा सधैँ ‘ध्रुवतारा’ बनेर चम्किरहने छन्।

आदरणीय नगेन्द्रराज शर्मालाई राज्यको तर्फबाट उहाँको साहित्य तथा साहित्यिक पत्रकारिताको योगदानबापत खासै सम्झिएको जस्तो लाग्दैन। उहाँले ‘भवानी साहित्यिक पत्रकारिता पुरस्कार’ (२०४६), मैनाली कथा पुरस्कार (२०५५), धुस्वाँ सायमि सिर्जना पुरस्कार (२०६१) जस्ता निजी पुरस्कार गुठीहरूबाट सम्मान पाउनुभयो। २०७७ सालमा उहाँको भव्य अभिनन्दन पनि साहित्यिक संस्थाहरूकै अगुवाइमा आयोजना गरिएको जनस्तरबाट भएको ठूलो सम्मान थियो।

मेरो तर्फबाट उहाँको दिव्य आत्माप्रति हार्दिक श्रद्धा–सुमन! मेरो कलमबाट प्रस्फुटित त्यो ‘सम्मानको उज्यालो साँझ’ निबन्ध र यो संस्मरण तपाईं र मबीचको आत्मीय सम्बन्धको साक्षी बन्दै नेपाली साहित्यमा सधैँ जीवन्त रहने छ। तपाईंको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *