भानुजयन्ती विशेष समारोहसँगै राज सिग्देलको सुमधुर स्वरमा गुञ्जियो दोहा
दोहा। आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा कतारको दोहामा आयोजित विशेष साहित्यिक तथा सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरद्वारा आयोजित कार्यक्रममा प्रख्यात गजल गायक राज सिग्देलको सुमधुर प्रस्तुतिले सम्पूर्ण हललाई गजलमय बनाएको थियो।
कार्यक्रमअन्तर्गत भानुजयन्ती विशेष समारोह, राज सिग्देलको ‘सुमधुर गजल साँझ’, नवोदित साहित्यिक वाचनालय कतारको १८औँ अधिवेशन तथा साहित्यिक वाचन शृङ्खलाको १७१औँ डबली कार्यक्रम एकै मञ्चबाट सम्पन्न गरिएको थियो।
प्रमुख अतिथि तथा नेपाली दूतावास, दोहाका कार्यवाहक राजदूत कुमार राईले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट विश्वभर रहेका नेपालीलाई एउटै भावनात्मक सूत्रमा बाँध्ने ऐतिहासिक योगदान दिएको बताए। संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा रूपान्तरण गरेर भानुभक्तले नेपाली भाषालाई जनस्तरसम्म पुर्याएको उल्लेख गर्दै उनले मातृभाषाप्रतिको सम्मान नै राष्ट्रप्रतिको सम्मान भएको धारणा व्यक्त गरे।
नवोदित कतारका अध्यक्ष शोभाराम ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोहास्थित विभिन्न सामाजिक तथा साहित्यिक संघसंस्थाका प्रतिनिधि, साहित्यकार, साहित्यप्रेमी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख आकर्षण बनेका गजल गायक राज सिग्देलले आफ्ना चर्चित गजलसँगै नेपाली साहित्यका वरिष्ठ स्रष्टाहरूका सिर्जनालाई सुमधुर स्वरमा प्रस्तुत गरेका थिए। विशेषगरी “उ जितेर गइ या हारेर गइ…” गजल प्रस्तुत हुँदा दर्शकदीर्घा नै गुञ्जिएको थियो। धेरै दर्शक आफ्ना आसनबाट उठेर गायकसँगै गजल गाउन थालेपछि कार्यक्रम अविस्मरणीय बनेको थियो।
त्यसपछि सिग्देलले कवि तथा गजलकार प्रदीप रोदन लगायत नेपाली साहित्यका चर्चित स्रष्टाहरूका गजललाई हार्मोनियमको मधुर धुनसँगै जीवन्त रूपमा प्रस्तुत गर्दै श्रोताको भरपूर प्रशंसा बटुले। उक्त साहित्यिक संस्थाले राज सिग्देल सहित श्रेष्टा सम्मान सहित सानू थपलियालाई सम्मानित गरेको हो ।
कार्यक्रमको बन्दसत्रले सन् २०२६–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा शोभाराम ओली, प्रथम उपाध्यक्षमा शिव सुवेदी, द्वितीय उपाध्यक्षमा पूर्ण कान्छा गुरुङ, मोबाइल पुस्तकालय संयोजकमा गोविन्द उदासी, महासचिवमा सुजाता डिसी, सचिवमा पाण्डव थापा मगर, कोषाध्यक्षमा रामप्रसाद लुइँटेल (आत्मरमानन्द), सहकोषाध्यक्षमा राजु सुवेदी (जेमराज) तथा सदस्यहरूमा गणेश बस्याल, पवन गुरुङ, योगेन्द्र सुवेदी, सरुजा कार्की, रिता ढुङ्गेल र मीन थापा सर्वसम्मत चयन भएका छन्।

साहित्य, संगीत र संस्थागत गतिविधिलाई एउटै मञ्चमा समेटिएको यस कार्यक्रमले कतारमा रहेका नेपाली समुदायबीच भाषा, साहित्य र संस्कृतिप्रतिको अपनत्व अझ सुदृढ बनाएको दोहाका चर्चित गजलकार श्यामराज रानाभाटले बताएका छन्।
कार्यक्रम सम्पन्न गरेलगत्तै गजल गायक राज सिग्देल शनिबार बिहान नेपाल फर्किएका छन्। उनको प्रस्तुतिले दोहामा आयोजित भानुजयन्ती समारोहलाई लामो समयसम्म स्मरणीय रहने सांगीतिक उत्सवका रूपमा स्थापित गरेको सहभागीहरूको भनाइ छ।






डिसी नेपाल





Facebook Comment