नागरिक सुरक्षाका लागि सरकारको पूर्वतयारी: विपद्को जोखिम भएका जिल्लाका सडकमा निगरानी

डिसी नेपाल
३ साउन २०८३ ६:५५

काठमाडौं। सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य प्राकृतिक विपद्को बढ्दो जोखिमलाई मध्यनजर गर्दै सडक र मौसमको अवस्था पूर्ण रूपमा मूल्याङ्कन गरेर मात्रै प्रभावित जिल्लाहरूमा सवारीसाधन सञ्चालन गर्न दिने भएको छ।

जल तथा मौसम विज्ञान विभागले देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारी र नागरिक सुरक्षाका उपायहरूलाई तीव्र पारेको हो।

सम्भावित पहिरो र आकस्मिक बाढीको उच्च जोखिम रहेका सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय विशुद्ध रूपमा नागरिकको जीउज्यानको सुरक्षालाई ध्यानमा राखेर गरिएको प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले जोखिमको अवस्थालाई मध्यनजर गर्दै पहिरो जाने उच्च सम्भावना भएका जिल्लाहरूमा सवारीसाधन सञ्चालन नगर्न पूर्वअग्रह गरिएको स्मरण गराएका छन्।

उनका अनुसार आज पनि मौसमको अवस्था र सडकको वास्तविक वस्तुस्थितिको स्थलगत मूल्यांकन गरेर मात्रै सवारी सञ्चालन खुला गरिनेछ। विपद्को समयमा सडक सुरक्षा सुनिश्चित गर्नका लागि प्राधिकरणले सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर रूपमा समन्वय गरिरहेको छ।

विभिन्न राजमार्ग तथा अन्य सहायक सडकहरूमा जोखिम घटेको प्राविधिक पुष्टि भएपछि मात्रै सवारी सञ्चालनका लागि अनुमति दिइने नीति सरकारले अख्तियार गरेको छ।

जोखिमपूर्ण मौसममा सम्भावित दुर्घटनाबाट बच्नका लागि प्राधिकरणले सर्वसाधारण आम नागरिकलाई मौसम तथा सडकसम्बन्धी आधिकारिक र अद्यावधिक सूचनाहरू मात्रै पछ्याएर यात्रा तय गर्न विशेष आग्रह गरेको छ।

साथै, जोखिमयुक्त सडकखण्डमा अनावश्यक रूपमा आवागमन नगर्न तथा स्थानीय प्रशासन र उद्धारमा खटिएका सुरक्षा निकायले दिएका निर्देशनहरूलाई पूर्ण रूपमा पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *