पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन पुनः सुचारु
डिसी नेपाल
३ साउन २०८३ ८:५४
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गमा आइतबार बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन पुनः सुचारु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार बिहान करिब ४:३० बजे रोशी गाउँपालिकाका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण रोशी गाउँपालिका–७ घुमाउने, वडा नं. ८ गिम्दी तथा वडा नं. ९ बिरुवा डाँडा र पिन्थली क्षेत्रमा सवारी साधन सञ्चालन ठप्प भएको थियो।
प्रहरी, स्थानीय तह तथा सडक डिभिजन कार्यालयको समन्वयमा डोजर प्रयोग गरी सडकमा थुप्रिएको माटो र ढुंगा हटाइएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडक खुलेसँगै दुवैतर्फ रोकिएका यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू गन्तव्यतर्फ सञ्चालन हुन थालेका छन्। यद्यपि वर्षायामका कारण उक्त क्षेत्रमा पुनः पहिरो खस्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारण र चालकहरूलाई आग्रह गरेको छ।
बीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने प्रमुख सडक सञ्जालमध्ये एक भएकाले वर्षायाममा हुने पहिरोका कारण पटक–पटक आवागमन प्रभावित हुँदै आएको छ। सम्बन्धित निकायले राजमार्गको जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी र अवरोध हटाउने कार्य जारी राखिएको जनाएको छ।
Facebook Comment