साउनको हरियालीसँगै इन्द्रचोकमा चुरापोतेको व्यापार मन्द: डिजिटल बजार र आर्थिक मन्दीको दोहोरो प्रभाव
काठमाडौं। सनातन परम्परामा साउन महिनालाई हरियाली र पवित्रताको प्रतीकका रूपमा लिइन्छ, जतिबेला महिलाहरू हरियो चुरा, पोते, हरियो पहिरन र हत्केलामा मेहन्दी सजाउने गर्छन्।
तर, यस वर्ष संघीय राजधानी काठमाडौंको ऐतिहासिक व्यापारिक केन्द्र इन्द्रचोकमा हरियो चुरापोते र मेहन्दीको परम्परागत व्यापार अघिल्लो वर्षको तुलनामा निकै घटेको व्यवसायीहरूको गुनासो छ।
सहरी क्षेत्रका महिलाहरूमा साउन महिनामा परम्परागत शृङ्गार गर्ने लहर यथावत रहे पनि बजारमा भने ग्राहकको भौतिक चहलपहल र खरिद दरमा उल्लेख्य कमी आएको व्यवसायीहरू बताउँछन्।
स्थानीय व्यापारीहरूले व्यापारको स्वरूप परम्परागतबाट डिजिटलतर्फ रूपान्तरण हुँदै गएको र बजारमा भीडभाड घटे पनि गुणस्तरीय सामान खोज्ने विशिष्ट ग्राहकहरू मात्र आउने गरेको अनुभव सुनाएका छन्।
विगत १२-१३ वर्षदेखि इन्द्रचोकमा पारिवारिक रूपमा पोतेको व्यवसाय गर्दै आएका व्यवसायी काली मुदिनका अनुसार बजारमा पहिले जस्तो भीडभाड नदेखिए पनि अनलाइन माध्यमबाट हुने कारोबारका कारण व्यापार एकनासले चलिरहेको छ।
नेपाली समुदायमा पोते लगाउने संस्कृति झन् बढ्दै गएको र इन्द्रचोकमा यसको विशिष्टीकृत बजार विकास भएको उनले बताए। चेक रिपब्लिक, जापान र चीनबाट मुख्य रूपमा आयात हुने पोतेहरू सुनका गहनासँग समेत प्रयोग गरिने हुँदा ग्राहकहरू गुणस्तर सुनिश्चित गर्न इन्द्रचोक आउने गर्छन्।
सामान्य डिजाइनका माला २०-५० रुपैयाँदेखि उपलब्ध भए पनि कलात्मक र हस्तकलायुक्त सामग्रीको मूल्य बढी पर्ने र वर्षभरिमा तीज, साउन, दशैँ तथा विवाहको लगनमा सबैभन्दा बढी व्यापार हुने मुदिनको भनाइ छ।
यसको ठीक विपरीत, विगत १५ वर्षदेखि सोही क्षेत्रमा व्यवसाय गरिरहेका शिवकुमार गौतम र अर्की व्यवसायी ज्ञानु मोक्तानको अनुभव भने निकै पीडादायी छ।

मोक्तानका अनुसार देशमा छाएको आर्थिक मन्दी, भारतबाट सामान आयातमा देखिएको कठिनाई र बढ्दो अनलाइन व्यापारका कारण परम्परागत पसलहरू नराम्ररी प्रभावित भएका छन्। ग्राहकहरूले घरमै सामान प्राप्त गर्ने अनलाइन सेवा रोज्न थालेका र आफ्नो पसलमा अनलाइन सुविधा नहुँदा व्यापारमा प्रत्यक्ष धक्का लागेको उनले गुनासो गरिन्।
यस्तै अवस्था व्यवसायी गौतमको पनि छ, जसले कोरोना महामारीपछि केही समय सुधारिएको बजार त्यसयता निरन्तर ओरालो लागेको बताए।
बजारमा देखिएको नगद अभाव, महँगी र उपभोक्ताको कमजोर क्रयशक्तिका कारण पसलको भाडा र दैनिक गुजारा चलाउन समेत धौ-धौ परिरहेको उल्लेख गर्दै उनले अब आफूहरू पनि डिजिटल र अनलाइन कारोबारतर्फ जानैपर्ने बाध्यता महसुस भएको बताए।
बजारमा वस्तुको मूल्य बढे पनि र चहलपहल घटे पनि किनमेलका लागि पुग्ने ग्राहकहरू भने गुणस्तर र संस्कारलाई नै प्राथमिकता दिइरहेका भेटिन्छन्। इन्द्रचोकमा पोते खरिद गर्न पुगेकी ग्राहक बिमला रामदामले बजारमा उपलब्ध सामग्रीको गुणस्तरप्रति सन्तुष्टि जनाउँदै नेपाली समाजमा चुरापोते फेसन मात्र नभई धार्मिक र सांस्कृतिक परम्पराको अभिन्न अङ्ग रहेको धारणा राखिन्।
अर्की ग्राहक मिना बराइलीले चिनियाँ मुद्राको विनिमय दर बढेका कारण आयातित सामान महँगो भएको व्यापारीहरूबाट बुझेको बताउँदै मूल्य बढे पनि सामाजिक र धार्मिक मान्यताका कारण यसको प्रयोग निरन्तर रहने उल्लेख गरिन्।
हिन्दू धर्ममा साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिने र यस अवधिमा महिलाले हरियो-पहेँलो शृङ्गार तथा पुरुषले पहेँलो वस्त्र लगाएर आराधना गर्ने परम्परा रहेकाले व्यापारको शैली फेरिए पनि यसको सांस्कृतिक महत्त्व भने अझै उत्तिकै उच्च रहेको देखिन्छ।
आकांक्षा धामी, नेपाल न्यूज बैंक






डिसी नेपाल





Facebook Comment