कोसीमा बाढीको कहर : खोटाङमा दुईको मृत्यु, पूर्वी नेपालका अधिकांश सडक अवरुद्ध
काठमाडौं । केही दिनयता भइरहेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पूर्वी नेपालको जनजीवन नराम्ररी प्रभावित बनेको छ। बाढीमा परी खोटाङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने लगातारको वर्षाले पूर्वी पहाडी क्षेत्रका अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन्।
बाढीका कारण खोटाङमा दुई स्थानीयले ज्यान गुमाएका छन्। जिल्ला प्रशासन कार्यालय खोटाङका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, नेर्पाकी ४३ वर्षीया शान्दा राईको छाँगे खोला तर्ने क्रममा बाढीले बगाउँदा मृत्यु भएको हो।
आफन्तको घरबाट फर्किने क्रममा बेपत्ता भएकी राईको शव स्थानीयले खोजी गर्ने क्रममा फेला पारेका थिए। त्यस्तै, केपिलासगढी गाउँपालिका–४, बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको पनि गाइखुरे खोल्सीले बगाउँदा मृत्यु भएको छ। खोल्सीले बगाएर करिब १०० मिटर तल पुर्याएको अवस्थामा उनको शव फेला परेको हो।
यस विषम परिस्थितिमा खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले मध्यपहाडी लोकमार्ग अन्तर्गतको चखेवा–दिक्तेल–जयरामघाट सडक खण्डसहित जिल्लाका अन्य सहायक सडकहरूमा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको जानकारी दिएकी छिन्।
सडक अवरुद्ध हुने क्रम पूर्वी नेपालका अन्य जिल्लामा पनि उस्तै छ। इलामको राजदुवालीमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। यसका अतिरिक्त इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ र धनकुटाका कतिपय मुख्य तथा सहायक सडकहरू पहिरोका कारण अवरुद्ध बनेका छन्।
धनकुटा प्रशासनले समेत भेडेटार–रवि–राँके सडक खण्डमा सवारी साधनको आवागमन बन्द गरिएको जनाएको छ। निरन्तरको वर्षाका कारण जोखिम बढेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।






डिसी नेपाल





Facebook Comment