चन्द्रागिरीमा ठूलो परिमाणमा लागुऔषध बरामद : १८ हजार बढी क्याप्सुलसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५, ढुङ्गेअड्डाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–९, पागादोबाटोका ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरी–४, नैकाप बस्दै आएकी २४ वर्षीया सुमित्रा राई रहेका छन्। सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार, सुरुमा सुमित्रा राईको साथबाट ५० वटा बक्समा राखिएको १५ हजार क्याप्सुल ट्रामाडोल र उनले प्रयोग गर्दै आएको बा ७७ प ७८०० नम्बरको स्कुटर नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानका क्रममा देउला बस्दै आएको कोठामा खानतलासी गर्दा प्रहरीले थप ३ हजार ७ सय ७० क्याप्सुल ट्रामाडोल, १ हजार १ सय ८८ ट्याब्लेट डाइजापाम तथा फेनरागन र १ सय ५० वटा पोलेन बरामद गरेको छ। प्रहरीले उक्त स्थानबाट अवैध लागुऔषधका साथै १ लाख ३९ हजार १ सय ६५ रुपैयाँ नगद र तीन थान मोबाइल फोन पनि बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई बरामद गरिएको लागुऔषध, नगद, सवारी साधन र मोबाइलसहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको डीएसपी थापाले जानकारी दिएका छन्।






डिसी नेपाल





Facebook Comment