साउनको पहिलो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो
काठमाडौं। यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत देशभरका विभिन्न शिवालयहरूमा पूजा-आराधना र दर्शनका लागि भक्तजनको ठूलो घुइँचो लागेको छ। बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको छ। साउने झरीको प्रवाह नगरी बिहानैदेखि श्रद्धालुहरू मन्दिर परिसरमा पुगिरहेका छन्।
पशुपतिनाथ मन्दिरमा आउने दर्शनार्थीहरूको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै कोषले विशेष व्यवस्था मिलाएको छ। मन्दिर प्रवेशका लागि चार वटा छुट्टाछुट्टै लामको प्रबन्ध गरिएको छ।
मन्दिरका चारै ढोका बेलुका ८:०० बजे आरतीपछि सम्मका लागि खुला रहनेछन् भने विशेष पूजाको समय भने बिहान ८:३० बजेदेखि मध्याह्न १२:०० बजेसम्म मात्र तोकिएको छ। दर्शन व्यवस्थापनलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, मन्दिर पहरा गण, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक सङ्घ–संस्थाका स्वयम्सेवकहरू खटिएका छन्।
पशुपति क्षेत्रमा भक्तजनका लागि प्राथमिक स्वास्थ्य उपचारलगायतका अत्यावश्यक सुविधाहरूको पनि व्यवस्था गरिएको छ। पशुपतिनाथका साथै उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायतका शिव मन्दिरहरूसँगै देशैभरका साना–ठूला शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको छ।






डिसी नेपाल





Facebook Comment