पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं सडक खण्ड पहिरोका कारण अवरुद्ध, पन्छाउने काम जारी
फाइल तस्बिर
काठमाडौं। धादिङ र चितवनका विभिन्न स्थानमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ। प्रहरीले अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ।
बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला नजिकै दुई स्थानमा र इच्छाकामना गाउँपालिका–३ फिसलिङमा पहिरो गएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालका अनुसार धादिङ तर्फको पहिरो पन्छाउन अझै केही घण्टा समय लाग्ने अनुमान गरिएको छ भने नारायणगढ–मुग्लिन–पोखरा सडक खण्ड भने हाल खुला रहेको छ।
सडक बन्द भएपछि सुरक्षा निकायले मुग्लिन–काठमाडौं खण्डका सवारीसाधनलाई कुरिनटार क्षेत्रमा र काठमाडौं–धादिङ सिमानाका नागढुंगा तथा सिम्लेतर्फ सवारी साधनहरूलाई रोकेका छन्। वर्षाका कारण रात्रिकालीन यात्रा असुरक्षित हुने भएपछि धादिङ प्रहरीले गएराति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको थियो भने बिहानै पहिरो खसेका कारण सवारीसाधन अझै पनि सञ्चालनमा आउन सकेका छैनन्।
पृथ्वी राजमार्ग अवरुद्ध भए पनि बीपी राजमार्ग क्षेत्र भने सञ्चालनमा आएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ थलीमा सडकमै आएको लेदो माटो हटाएपछि सो रुटमा सवारी साधनहरू सहज रूपमा चल्न थालेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।






डिसी नेपाल





Facebook Comment