३५ वर्षमा एक चौथाइ समय पनि एमालेले शासन गरेको छैन, सबै दोष थोपर्न मिल्दैन : निरज आचार्य

डिसी नेपाल
४ साउन २०८३ १०:२०

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षको अवधिमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको स्पष्ट पारेका छन्। एमालेलाई लक्षित गर्दै ३५ वर्षको शासनकाललाई लिएर प्रश्न उठाउनु तथ्यविपरीत रहेको जिकिर उनले गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले अहिले समाजमा ‘३५ वर्षमा तिमीहरूले के गर्‍यौ?’ भन्ने गलत भाष्य निर्माण गरी आम नागरिकमा भ्रम छर्न खोजिएको बताएका छन्।

उनले प्रस्तुत गरेको तथ्याङ्कअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २९८ दिन, १,२४४ दिन र ४२५ दिन गरी कुल १,९६७ दिन (अर्थात् ५ वर्ष ४ महिना २२ दिन) सरकारको नेतृत्व गरेका छन्।

यसैगरी, तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले २८६ दिन, माधवकुमार नेपालले ६२३ दिन र झलनाथ खनालले २०५ दिन सरकारको नेतृत्व गरेका थिए। यी सबै अवधि जोड्दा विगत ३५ वर्षमा एमालेले कुल ३,०८१ दिन अर्थात् ८ वर्ष ५ महिना ११ दिन मात्रै सत्ता सम्हालेको देखिन्छ।

विगत ३५ वर्षमा एमालेले एक चौथाइ समय पनि सत्ता नसम्हालेको उल्लेख गर्दै आचार्यले २०४८ सालयताका २७ वर्ष अन्य राजनीतिक दलहरूले नै शासन सञ्चालन गरेको बताएका छन्। “३५ वर्षको एक चौथाइ समय पनि एमालेले सत्ता चलाएको छैन भने मुलुकमा बिग्रिएका सबै कामको दोष एमालेमाथि मात्रै थोपर्न मिल्छ?” उनले प्रश्न गरेका छन्।

एमाले नेतृत्वको सरकारको कार्यकाल छोटो भए तापनि त्यस अवधिमा ऐतिहासिक उपलब्धिहरू हासिल भएको दाबी आचार्यले गरेका छन्। ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताको सुरुवात र विस्तार, सुशासन, बलियो राष्ट्रियताको अडान तथा ठूला पूर्वाधार निर्माणजस्ता क्षेत्रमा उल्लेखनीय काम भएको उनले उल्लेख गरेका छन्।

आचार्यले नागरिकका मूर्छित सपनाहरूलाई ब्युँझाउने तथा राज्य र प्रणालीप्रति आम जनताको भरोसा जगाउने काम एमाले नेतृत्वकै सरकारहरूले गरेको दाबी पनि गरे। उनले तथ्यका आधारमा मात्र राजनीतिक मूल्याङ्कन गर्न आग्रह गर्दै भ्रमको पछि नलागी सत्यको सम्प्रेषण र रचनात्मक आलोचना गर्न सबैमा अनुरोध गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *