जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’

डिसी नेपाल
५ साउन २०८३ १३:००

जनकपुरधाम। सामाजिक सञ्जाल तथा केही माध्यमहरूमा जानकी मन्दिर परिसरबाट आफू लखेटिएको खबर सार्वजनिक भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले त्यसको कडा शब्दमा खण्डन गरेका छन्। उनले आफू घटनाको समयमा जनकपुर नपुग्दै भ्रमपूर्ण प्रचार गरिएको दाबी गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, “म जनकपुर पुगेकै छैन ! लखेटेको भन्ने भ्रम आइसकेछ !”

अध्यक्ष साम्पाङ जनकपुरमा आयोजना गरिएको श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रमका साथै ऐतिहासिक जानकी मन्दिरको दर्शनका लागि आउने तालिका तय भएको थियो। तर, उनी कार्यक्रमस्थल तथा मन्दिर परिसर नपुग्दै स्वागतका लागि भेला भएका उनका पार्टी कार्यकर्ता र स्थानीय ‘हिन्दू सम्राट सेना’का कार्यकर्ताहरूबीच जानकी मन्दिर परिसरमा भिडन्त र धकेलाधकेलको स्थिति सिर्जना भएको थियो।

साम्पाङले विगतमा गौहत्या वा गाई खाएको विषयलाई लिएर विवादित अभिव्यक्ति दिएको आरोप लगाउँदै हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले उनलाई मन्दिर प्रवेशमा रोक लगाउने र निषेध गर्ने चेतावनी दिएका थिए। सोही क्रममा मन्दिर परिसरमा साम्पाङको स्वागतका लागि उपस्थित पार्टी कार्यकर्ताहरूलाई हिन्दु सम्राट सेनाको समूहले लखेटेको समाचार बाहिरिएको थियो।

घटनालगत्तै अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा अर्को स्टाटस लेख्दै पुरानो धार्मिक विषयलाई लिएर अनावश्यक झैझगडा र राजनीति गर्न खोजिएको आरोप लगाए। उनले जनकपुरको स्थिति असामान्य बन्दा गृहमन्त्रीको फोनसमेत ‘अफ’ रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। यद्यपि, स्थिति थप जटिल नबनोस् भन्नका लागि उनले आफ्ना सबै पार्टी कार्यकर्ताहरूलाई संयमित रहन र कुनै पनि प्रकारको उत्तेजनामा नआउन आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *