पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुल्तवीमा राख्न विशेष अदालतद्वारा अस्वीकार
काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दालाई मुल्तवीमा राख्न अस्वीकार गरेको छ।
विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले डा. महतको मुद्दा हाललाई मुल्तवीमा राख्न मिल्ने नभएको भन्दै निवेदन अस्वीकृत गरेको हो।
डा. महत गम्भीर मानसिक रोगबाट पीडित भई अशक्त रहेको र स्मरणशक्ति हराएको भन्दै उनकी पत्नी रोशना महतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ बमोजिम मुद्दा मुल्तवीमा राख्न माग गर्दै निवेदन दिएकी थिइन्।
तर, अदालतको तीन न्यायाधीशको इजलासले प्रतिवादी डा. महत स्वयं अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्थालाई समेत दृष्टिगत गरी कानुनबमोजिम उपयुक्त आदेश हुन सक्ने भएकाले हाललाई मागबमोजिम मुल्तवीमा राख्न नमिलेको स्पष्ट पारेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबीसहित पूर्वमन्त्रीहरूसहित ५६ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दा हाल विशेष अदालतमा विचाराधीन रहेको छ।






डिसी नेपाल





Facebook Comment