मनसुनमा विशेष सतर्कता अपनाउन आग्रह: २४ घण्टामा विपद्का ४७ घटना, ३ जनाको मृत्यु
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र सर्पदंश जस्ता विपद्को जोखिम बढेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आम नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ।
प्राधिकरणले जनधनको सुरक्षालाई प्राथमिकतामा राख्दै पूर्वसावधानीका उपायहरू पालन गर्न र यात्रा गर्नुअघि अनिवार्य रूपमा मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ।
प्राधिकरणका अनुसार वर्षाको समयमा यात्रा गर्दा निकै चनाखो हुनुपर्नेछ। ठूलो पानी परिरहेका बेला सकेसम्म रातिको समयमा यात्रा नगर्न र बाढी आएको अवस्थामा खोला, खोल्सा वा नदी तर्ने प्रयास नगर्न सचेत गराइएको छ।
त्यसैगरी वर्षा भइरहेका बेला काठ-दाउरा टिप्न, माछा मार्न वा पौडी खेल्न नदी किनारमा नजान तथा पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न ध्यानाकर्षण गराइएको छ।
जोखिमयुक्त पुल तथा नदी किनारमा उभिएर फोटो वा भिडियो खिच्ने काम नगर्न, हाइकिङ वा पैदलयात्रामा एक्लै ननिस्कन र विपद्को कुनै पनि सङ्केत पाउनासाथ सुरक्षित स्थानतर्फ लागी स्थानीय प्रशासन वा सुरक्षाकर्मीलाई खबर गर्न भनिएको छ।
यसैगरी, सम्भावित जोखिमबाट बच्न घरवरिपरिका ढल तथा नाली सफा राख्न, सर्पको टोकाइबाट बच्न उज्यालो वा टर्चलाइटको प्रयोग गर्न र चट्याङ पर्न लागेमा तुरुन्तै सुरक्षित आश्रयस्थलमा जान आग्रह गरिएको छ।
आपतकालीन अवस्थाका लागि महत्त्वपूर्ण कागजात, अत्यावश्यक औषधि र नबिग्रिने खानेकुरा एउटा झोलामा तयार राख्न तथा मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरेर राख्न पनि सुझाइएको छ। भ्रामक अफवाहको पछि नलागी केवल आधिकारिक स्रोतबाट आउने सूचनामा मात्र विश्वास गर्न आग्रह गर्दै प्राधिकरणले विपद् सम्बन्धी सूचना वा उद्धारका लागि ११५५, १२३४, १०० र १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ।
गत असार ५ गतेदेखि सुरु भएको यस वर्षको मनसुनका कारण जनधनको क्षति रोक्न पूर्वतयारीका प्रयास जारी राखिएका छन्। यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्का घटना दर्ता भएका छन्, जसबाट अनुमानित १३ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ। साउन ५ गतेदेखि ६ गते बिहानसम्मका यी घटनाहरूमा परि तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार यस अवधिमा पहिरोका १४, सर्पदंश र आगलागीका आठ-आठ, अविरल वर्षाका आठ, जनावर आक्रमणका तीन, बाढीका दुई र हावाहुरीको एक घटना घटेका छन्।






डिसी नेपाल





Facebook Comment