रङ्गमञ्चका शिखर प्रचण्ड मल्लसँग एक साँझ

ज्ञानेन्द्र विवश
९ साउन २०८३ १५:१८

साँझको मधुर उज्यालो बिस्तारै क्षितिजपारि हराउँदै थियो। सहरको कोलाहलबाट केही पर, नेपाली रङ्गमञ्चका एक विराट साधक-आदरणीय प्रचण्ड मल्लज्यूको निवास, बानेश्वर मीनभवनतर्फ मेरा पाइलाहरू बिस्तारै अघि बढिरहेका थिए।

उहाँको घरको ढोका घच्घच्याउँदा मनमा एउटा अनौठो स्पन्दन जागिरहेको थियो। त्यो कुनै औपचारिक भेटको उत्सुकता थिएन; नेपाली रङ्गमञ्चको एउटा जीवित इतिहाससँग साक्षात्कार गर्न पाउने सौभाग्यको अनुभूति थियो।

ढोका खुल्यो। अनुहारमा सहज मुस्कान, आँखामा दीर्घ साधनाको उज्यालो र व्यवहारमा दुर्लभ आत्मीयता बोकेर उहाँले स्वागत गर्नुभयो। केही क्षणमै औपचारिकताको दूरी पग्लियो। कुराकानीको वातावरण यति सहज बन्यो कि लाग्यो- म कुनै प्रसिद्ध नाट्यनिर्देशकसँग होइन, बरु आफ्नै परिवारका अनुभवी अग्रजसँग संवाद गरिरहेको छु।

वि.सं. १९८८ मा बाराको बरेवामा जन्मनुभएका प्रचण्ड मल्ल नेपाली नाटक र रङ्गमञ्चको एउटा युग नै हुनुहुन्थ्यो। मस्कोको प्रतिष्ठित स्टेट इन्स्टिच्युट अफ थिएटरबाट रङ्गमञ्चीय निर्देशनमा उच्च शिक्षा हासिल गरी स्वदेश फर्कनुभएका उहाँले तीन सयभन्दा बढी नाटकको निर्देशन गरेर नेपाली रङ्गमञ्चलाई नयाँ दृष्टि, नयाँ अनुशासन र नयाँ उचाइ प्रदान गर्नुभयो।

फर्केर हेर्दा, ‘जब घाम लाग्छ’‘पहाड चिच्याइरहेछ’ जस्ता चर्चित नाटकदेखि लिएर वि.सं. २०३७ मा प्रकाशित ‘नेपाली रङ्गमञ्च’ जस्तो इतिहासग्रन्थसम्म उहाँको योगदान नेपाली सांस्कृतिक इतिहासको अमूल्य सम्पत्ति बनेको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक उपकुलपतिका रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका पनि उत्तिकै स्मरणीय छ। यस्ता व्यक्तित्वसँग साक्षात्कार गर्ने अवसर मेरो जीवनकै अविस्मरणीय क्षणहरूमध्ये एक बन्यो।

कुराकानी क्रमशः गहिरिँदै गयो। उमेरले शरीरलाई केही थकित बनाएको भए पनि उहाँको चेतना भने अझै अनुसन्धान र सिर्जनाको उज्यालोले भरिएको थियो। अचानक उहाँले निकै सहज स्वरमा भन्नुभयो- “भाइ, अब त मेरो उमेर धेरै ढलिसक्यो। तर गर्नुपर्ने काम अझै धेरै बाँकी छन्। समाजका अनेक आयामबारे अनुसन्धान गर्न बाँकी छ, लेख्नुपर्ने विषयहरू अझै धेरै छन्।”

उहाँका यी शब्दहरू सुन्दा मलाई लाग्यो, साँचो स्रष्टा उमेरले वृद्ध हुँदैन; उसको जिज्ञासा कहिल्यै बूढो हुँदैन। शरीर थाक्न सक्छ, तर सिर्जनाको आगो निभ्दैन। उहाँका वाक्यहरूमा कुनै निराशा थिएन, बरु अझै धेरै काम गर्न बाँकी रहेको साधकको बेचैनी थियो।

केहीबेरपछि उहाँले मलाई आफ्नै अध्ययन-कक्षतर्फ लैजानुभयो। त्यो एउटा कोठा मात्र थिएन, ज्ञानको मन्दिर थियो। चारैतिर पङ्क्तिबद्ध पुस्तकहरू, मोटामोटा ग्रन्थहरू, नाटक, इतिहास, दर्शन र कलाका असङ्ख्य कृतिहरू। दराजमा भरिभराउ र त्यहाँ नअटेका अरू चाङका चाङ किताबका ठेली भुइँभरि छरपस्ट थिए। तिनलाई सँगालेर, सजाएर राख्ने ठाउँ पनि थिएन, फुर्सद पनि मिलेको थिएन होला!

बहुमूल्य ती पुस्तकहरूको संसारमा प्रवेश गर्दा मलाई लाग्यो- म अक्षरका बगैँचाभित्र हिँडिरहेको छु। त्यहाँ मैले किताबका पाना नपल्टाए पनि तिनमा समको पुस्तक-प्रेम र लेखनको दार्शनिक गहिराइ महसुस गरेँ। अनि मल्लज्यूको गहिरो अध्ययनशीलताको ध्यानमग्न क्षण कल्पना गरेँ।

एउटा ठूलो ग्रन्थतर्फ औँल्याउँदै उहाँले भन्नुभयो- “ऊ त्यो नाटकसम्बन्धी पुस्तक हो। हुन त मसँग प्रायः नाटकसँग सम्बन्धित किताबहरू नै छन्। अनि यी सबै पुस्तक मलाई नाट्यसम्राट बालकृष्ण समज्यूले दिनुभएको हो।”

उहाँको स्वरमा गर्वभन्दा बढी कृतज्ञता थियो। मैले ती पुस्तकहरू नियालिरहेँ। विश्वप्रसिद्ध नाटककार शेक्सपियरदेखि अनेकौँ कालजयी लेखकका कृतिहरू त्यहाँ ससम्मान सजिएका थिए। कतिपय ग्रन्थ यति गहकिला थिए कि मेरा हातले सहजै उचाल्न पनि सक्दैनथे।

ती पुस्तक मात्र थिएनन्; दशकौँको अध्ययन, साधना र संस्कृतिको सञ्चित सम्पदा थिए। साथै तिनलाई यसरी सङ्कलित गरी राख्नु र यस्ता दुर्लभ किताब पाउनु पनि कम ठूलो उपलब्धि होइन भन्ने कुरा मैले मनन गरिरहेँ।

त्यही अध्ययन–कक्षमा बसेर मैले प्रचण्ड मल्लभित्रको अर्को व्यक्तित्वलाई अझ नजिकबाट चिन्ने अवसर पाएँ– नाट्यसम्राट बालकृष्ण समका उहाँ एक समर्पित शिष्य! समप्रतिको उहाँको श्रद्धा केवल भावनात्मक थिएन; त्यो निरन्तर अध्ययन, अनुसन्धान र लेखनमार्फत् अभिव्यक्त हुने बौद्धिक निष्ठा थियो। हरेक वर्ष सम–जयन्तीका अवसरमा माघ २४ गते प्रकाशित उहाँका लेखहरू पढ्दा मलाई लाग्थ्यो- बालकृष्ण समलाई बुझ्ने ढोकाहरू अझै धेरै खुल्न बाँकी छन्। क्रमशः बन्द दैलो खोल्दै प्रचण्ड मल्लले नयाँ क्षितिज देखाउँदै आइरहनुभएको छ।

त्यही जिज्ञासाले मैले उहाँलाई सोधेँ– “समज्यूका बारेमा त धेरै लेखिइसक्यो होला नि?”

उहाँ हल्का मुस्कुराउनुभयो। त्यो मुस्कानमा विनम्रता थियो, तर उत्तरमा गहिरो विश्वास- “भाइ, समका बारेमा लेख्नुपर्ने र उजागर गर्नुपर्ने कुरा अझै धेरै बाँकी नै छन्।”

उहाँको आवाज मेरो कानमा गुञ्जियो। तर यो आवाजमा व्यक्त भाव एउटा सामान्य उत्तर थिएन। यो त ज्ञानको समुद्रकिनारमा उभिएको साधकको स्वीकारोक्ति थियो। त्यस क्षण मैले अनुभूति गरेँ– साधनाको कुनै अन्तिम किनारा हुँदैन। जति अगाडि बढ्यो, उति नयाँ क्षितिज खुल्दै जान्छ।

मैले उहाँसँग कमलपोखरीस्थित समको निवासको विषयमा पनि कुरा कोट्याएँ। त्यहाँ समको जीवनयात्राको सग्लो पाटो मैले कलाकार तथा समीक्षक रमेश खनालसँग प्रत्यक्ष देख्ने अवसर पाएको थिएँ। खनालले नेपाल टेलिभिजनका लागि नाट्यसम्राट बालकृष्ण समको कलाकार व्यक्तित्वलाई वृत्तचित्रका माध्यमबाट तयार पार्नुभएको थियो।

विडम्बना, मैले देखेको त्यो सम निवास केही वर्षमै पौडीपोखरीमा रूपान्तरित भएर समको भौतिक अस्तित्व नै समाप्त भएर गयो। यसबारेमा मल्लज्यूले पनि गहिरो अफसोस प्रकट गर्नुभयो। आज पनि मेरो आँखामै झल्झली याद आउँछ- ढोकामाथि समको प्रिय ‘गरुड’को प्रतिमा र भित्र कोठामा उहाँका अमूल्य क्यानभास चित्रहरू सजिएका थिए।

सम नेपाली चित्रकलामा परम्परागत शैलीमा व्यक्ति र दृश्यचित्रलाई कलात्मक उचाइ प्रदान गर्ने एक कुशल चित्रकारसमेत हुनुहुन्थ्यो। ‘त्रिशूली’, ‘झरना’ का साथै राणा र राजपरिवारका सदस्यहरूको व्यक्तिचित्र पनि उहाँले प्रशस्तै बनाउनुभएको थियो।

“‘मन्दाकिनी’ (समज्यूकी पत्नीको तैलचित्र), राणा परिवारका व्यक्तित्वहरूको व्यक्तिचित्र, प्राकृतिक दृश्य, मञ्च-पर्दा (stage backdrop) का चित्रहरू, जुन उहाँले अमर चित्रकारसँग मिलेर आफ्ना नाटकका लागि बनाउनुहुन्थ्यो। साथै उहाँको प्रसिद्ध कृति ‘चिसो चुल्हो’को पहिलो संस्करणमा कथावस्तुलाई सघाउने रङ्गीन तथा श्यामश्वेत रेखाचित्रहरू पनि स्वयं बालकृष्ण समज्यूले बनाउनुभएको थियो।”- मैले समको निवास र उहाँको चित्रकलासम्बन्धी जिज्ञासा राख्दा मल्लज्यूले यति जानकारी गराउनुभयो।

समय कसरी बित्यो, थाहै भएन। साँझ बिस्तारै रातमा रूपान्तरित हुँदै गयो। म उहाँको निवासबाट बाहिरिँदा एउटा भेटको सम्झना मात्रै बोकेर फर्किरहेको थिइनँ; मसँग एउटा जीवनदर्शन पनि थियो। सिर्जना भनेको निरन्तर खोज हो, अध्ययन भनेको अन्त्यहीन यात्रा हो र साँचो साधना भनेको आफूले सिकेकोभन्दा अझ धेरै सिक्न बाँकी छ भन्ने विनम्र स्वीकारोक्ति पनि हो।

वि.सं. २०७८ पुस २ गते उहाँ ९२ वर्षको उमेरमा यस भौतिक संसारबाट बिदा हुनुभयो। तर केही व्यक्तिहरूको देहावसान मात्र हुन्छ, उनीहरूको साधना कहिल्यै समाप्त हुँदैन। आज पनि प्रचण्ड मल्ललाई सम्झँदा मेरो मानसपटलमा सबैभन्दा पहिले उहाँको अध्ययन-कक्ष झल्किन्छ- पुस्तकहरूले भरिएको त्यो कोठा, समप्रतिको उहाँको अगाध श्रद्धा, अनुसन्धानप्रतिको अथक तिर्खा र रङ्गमञ्चप्रतिको आजीवन समर्पण!

जीवनमा कतिपय भेटहरू क्षणिक हुन्छन्, तर तिनको प्रभाव दीर्घजीवी हुन्छ। प्रचण्ड मल्लज्यूसँग बिताएको त्यो साँझ पनि त्यस्तै अमूल्य सम्पत्ति बनेर मेरो स्मृतिमा सुरक्षित छ। आज जब नेपाली रङ्गमञ्चका महान् साधकहरूको चर्चा हुन्छ, मेरा आँखाअघि सधैँ एउटा दृश्य उभिन्छ- पुस्तकहरूको बीचमा बसेर अझै लेख्न बाँकी रहेको इतिहासबारे गम्भीरतापूर्वक बोलिरहनुभएका प्रचण्ड मल्ल! उहाँको त्यो स्वर अहिले पनि मेरो स्मृतिमा उस्तै जीवन्त छ र सायद सधैँ रहनेछ।

आज यसरी अचानक उहाँलाई सम्झनु र संस्मरणमा यी अभिव्यक्ति व्यक्त गर्नुको विशेष कारण त केही थिएन, किनभने आज उहाँको जन्मदिन वा जन्मजयन्ती केही पनि होइन। तथापि उहाँसँगको भेटको एक दशक (२०७३ साल श्रावण ९ गते आइतबार) पुगेको सम्झना ‘फेसबुक’ले गराइदिँदा म ती दिनहरूतर्फ फर्कन पुगेँ। वास्तवमा एक दशक समय बित्नु सामान्य कुरा होइन। आदरणीय नाट्यनिर्देशक प्रचण्ड मल्लप्रति हार्दिक शब्द–श्रद्धाञ्जली अर्पण गर्दछु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *