विश्वास, सम्मान र सहकार्यको ४६ वर्ष: मदनकृष्ण श्रेष्ठको नजरमा हरिवंश आचार्यसँगको आत्मीय सम्बन्ध

डिसी नेपाल
१४ साउन २०८३ ८:००

काठमाडौं। मानवीय जीवनमा आत्मीयता, सद्भाव र भाइचाराको सन्देश फैलाउँदै आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’ मनाइँदैछ। प्रत्येक वर्ष आयोजना गरिने यो दिवस सच्चा मित्रहरूको सम्मान गर्दै मित्रताको वास्तविक महत्त्व र अर्थ सम्झने विशेष अवसरका रूपमा लिइन्छ।

यस दिन साथीहरूबीच प्रेम, विश्वास, सहयोग र सम्मानको भावना अझ बलियो बनाइन्छ। साँचो मित्र भनेको सुख-दुःख, सफलता-असफलता तथा जीवनका हरेक उतारचढावमा निरन्तर साथ दिने व्यक्ति हो।

मित्रताले मानिसको जीवनलाई खुसी, समृद्ध र अर्थपूर्ण बनाउँछ। असल मित्रले जीवनमा सही बाटो देखाउँछ, कठिन समयमा हौसला प्रदान गर्छ र खुसीका क्षणलाई अझ रमाइलो बनाइदिन्छ। त्यसैले मित्रताको सम्बन्धलाई इमानदारी, गहिरो विश्वास र सम्मानका साथ जीवनभर कायम राख्नु अत्यावश्यक मानिन्छ।

अन्तर्राष्ट्रिय मित्रता दिवसले मित्रताको सामाजिक, सांस्कृतिक र मानवीय महत्त्वलाई उजागर गर्ने उत्कृष्ट अवसर पनि प्रदान गर्छ। मित्रता केवल दुई व्यक्तिबीचको व्यक्तिगत सम्बन्ध मात्र नभई समग्र समाजमा सद्भाव, सहिष्णुता र एकताको भावना बलियो बनाउने एउटा दर्बिलो आधार पनि हो।

जात, धर्म, भाषा, संस्कृति वा भौगोलिक सीमाभन्दा माथि उठेर एकअर्काप्रति सम्मान र विश्वास कायम गर्नु नै साँचो मित्रताको वास्तविक पहिचान मानिन्छ। नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा अन्तरजातीय तथा अन्तरसमुदायबीचको मित्रताले सामाजिक सद्भाव र आपसी विश्वासलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। फरक-फरक पृष्ठभूमिका मानिसहरूबीचको यस्तो आत्मीय सम्बन्धले विविधताका बिचमा पनि एकता पूर्ण रूपमा सम्भव छ भन्ने बलियो सन्देश दिन्छ।

यही सन्दर्भमा वरिष्ठ हास्यव्यङ्ग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) को चार दशकभन्दा लामो अन्तरजातीय मित्रता केवल दुई कलाकारको व्यक्तिगत सम्बन्धमा मात्र सीमित छैन।

आपसी विश्वास, सम्मान, बुझाइ र निरन्तरको व्यावसायिक सहकार्यले कुनै पनि सम्बन्धलाई कसरी दीर्घकालीन बनाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरणका रूपमा उनीहरूको मित्रतालाई हेर्ने गरिन्छ। यसै मित्रता दिवसको विशेष सन्दर्भमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सहकर्मी एवम् मित्र हरिवंश आचार्यसँगको ४६ वर्ष लामो मित्रताको मुख्य आधार विश्वास, समझदारी र आपसी सम्मान नै रहेको बताएका छन्।

नेपाल न्युज बैंकसँगको विशेष कुराकानीका क्रममा उनले आफूहरू एउटै सिद्धान्त र सोचका साथ निरन्तर अघि बढेकाले नै यति लामो समयसम्म सहकार्य सम्भव भएको स्पष्ट पारे।

उनका अनुसार आफूहरू एउटै सिद्धान्त र एउटै दृष्टिकोणबाट अघि बढेकाले सहकार्यले ४६ वर्ष पार गरिसकेको र अहिले पनि उत्तिकै सक्रियताका साथ सँगै काम गरिरहेको बताए।

मदनकृष्णका अनुसार उहाँ र हरिवंशबीचको सम्बन्ध केवल सहकर्मी वा कलाकारको रूपमा मात्र नभई नेपाली समाजका लागि अन्तरजातीय मित्रताको पनि एउटा उत्कृष्ट उदाहरण हो। फरक-फरक जातीय र सांस्कृतिक समुदायबाट आए पनि आपसी विश्वास, आदर र समझदारीले उनीहरूको सम्बन्धलाई झन्-झन् बलियो बनाउँदै लगेको उनको भनाइ छ।

उनले आफूहरू फरक-फरक जातीय पृष्ठभूमिबाट आएकाले यो सम्बन्ध अन्तरजातीय मित्रताको नमुना बनेको बताउँदै आफूले हरिवंशलाई बुझ्ने र हरिवंशले पनि आफूलाई गहिरोसँग बुझ्ने गरेको उल्लेख गरे।

आवश्यकता पर्दा एकअर्काको दृष्टिकोणबाट सोच्ने र हेर्ने प्रयास गर्ने बानीका कारण यो विश्वास र समझदारी ४६ वर्षसम्म उत्तिकै ताजा रहन सकेको उनको अनुभव छ। कार्यव्यस्तताका बिच पनि यदि दुई-तीन दिनसम्म सम्पर्क हुन नसकेमा एकअर्कालाई फोन गरेर हालखबर सोध्ने, आवश्यक पर्दा उचित सुझाव दिने, गल्ती भएमा सच्याउन सम्झाउने र एकअर्काको दृष्टिकोणलाई सम्मान गर्ने बानीले सम्बन्धलाई झन् परिपक्व बनाएको उनले बताए।

कुनै विषयमा मत भिन्नता भए पनि साथीको दृष्टिकोणबाट हेर्ने र त्यो कुरा उचित लागेमा सहजै स्वीकार गर्ने परिपाटीले काम गर्दा सधैँ राम्रो परिणाम आएको उनको भनाइ छ।

मदनकृष्णले लामो सहकार्य र साझेदारीमा सबैभन्दा ठूलो चुनौती सफलता र आर्थिक पक्ष हुन सक्ने आफ्नो जीवनको व्यावसायिक अनुभव पनि सुनाए। उनका अनुसार धेरैजसो साझेदारी सम्बन्धहरू आम्दानी र सफलता बढेपछि ‘मैले बढी काम गरेँ’ वा ‘मलाई कम मूल्याङ्कन गरियो’ भन्ने जस्ता हीनभावना वा अहंकार आउँदा बिग्रिन थाल्छन्।

त्यसपछि अहंकार बढ्दै जाने, कुरा परिवारसम्म पुग्ने र मनमुटाव सुरु हुने गर्छ। तर उनीहरूको सम्बन्धमा भने त्यस्तो अवस्था कहिल्यै नआएको र सफलतालाई सँगै स्वीकार गर्दै त्यसको प्रतिफल पनि सँगै बाँडेकाले सम्बन्ध अक्षुण्ण रहेको उनले स्मरण गरे।

उनले आफूहरूलाई देश-विदेशमा रहेका दर्शकले दिएको अगाध माया र सम्मान नै जीवनको सबैभन्दा ठूलो उपलब्धि भएको बताए। नेपालदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेका हरेक ठाउँमा दर्शकले आफ्नै परिवारका सदस्यझैँ आत्मीय व्यवहार गर्ने गरेको अनुभव सुनाउँदै बालबालिकाले ‘अंकल’, ‘बा’ वा ‘बाजे’ भनेर बोलाउने, समकक्षीहरूले ‘दाजु’ भन्ने र ज्येष्ठ नागरिकहरूले आफ्नै छोरा-छोरीसरह माया दिने गरेको उल्लेख गरे।

कलाकारका लागि दर्शकको योभन्दा ठूलो भाग्य र सम्पत्ति अरू केही हुन नसक्ने उहाँको ठहर छ। अन्तर्राष्ट्रिय मित्रता दिवसका अवसरमा मदनकृष्ण श्रेष्ठले सुनाएको ४६ वर्ष लामो मित्रताको यो प्रेरक अनुभवले साँचो मित्रता सधैं विश्वास, सम्मान, समझदारी र निरन्तरको संवादमा टिक्छ भन्ने शाश्वत सन्देश दिएको छ।

आकांक्षा धामी, नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *