अध्यात्म

धर्मको बन्धन र स्वतन्त्र जीवनको खोजी

शंकरप्रसाद रिजाल
१६ साउन २०८३ ७:५४

धर्म र अधर्म मानिसको आफ्नै धारणा हो। यो फरक-फरक कालखण्डमा मानिसहरूद्वारा निर्मित एक भाष्य हो, जुन संसारभर व्यापक छ।

धर्मले संसारमा जति जरा गाडेको छ, धर्म नमान्ने (अधर्मी/नास्तिक) भनिएकाहरूले पनि धर्मलाई अङ्गीकार नगरे तापनि मानवतालाई भने आत्मसात् गरेको र मानेको देखिन्छ।

पौराणिक काल

पौराणिक कालमा ठूला पुरुषार्थी मानिसहरू थिए, जसलाई हामी देवी-देवता भन्दछौँ। त्यसै समयमा अधर्मीहरू पनि थिए, जसलाई हामी राक्षस भन्ने गर्छौँ। धर्म र अधर्मबिचको यो द्वन्द्व पौराणिक कालदेखि नै चलिआएको छ।

सत्य युगमा देवासुर संग्राम, त्रेता युगमा राम-रावण युद्ध, द्वापर युगमा कौरव र पाण्डवबिचको युद्ध तथा आज कलियुगमा धर्म (आस्तिक) र अधर्म (नास्तिक) बिचको शारीरिक र बौद्धिक युद्ध-यो क्रम पुनरावृत्तिको शृङ्खला हो र कहिल्यै नसकिने एक परिघटना हो।

पौराणिक कालमा धर्मका नाममा जति युद्धहरू भए, त्यति नै अधर्मीहरूका तर्फबाट पनि भए। धर्मीहरू धर्मका नाममा देवी-देवताको पूजा-अर्चना गरी ईश्वरको दर्शन र प्रत्यक्ष अनुभूति गरेर यो लोकभन्दा परको (परलोकको) सिद्धि प्राप्तिका लागि तल्लीन रहन्छन्।

अर्कोतर्फ अधर्मी अर्थात् नास्तिकहरू भने वर्तमानको परिधिलाई बुझेर प्रकृतिवादी बन्दछन्। उनीहरू जे देखिन्छ त्यसैलाई सत्य ठानी वास्तविक बन्दै मानवता, वैज्ञानिक अन्वेषण र निष्ठामा रहेर यही जीवनमा कसरी सुख र शान्ति प्राप्त गर्ने एवं कसरी वैभवशाली बनेर आफू र अरूलाई मद्दत गर्न सकिन्छ भन्ने धारणा बोकेर हिँडिरहेका हुन्छन्।

धर्म र अधर्मको विवेचना तथा विश्लेषण

धर्मले ध्यान, पूजा-अर्चना, तपस्या, जप र तपलाई बढी प्राथमिकता दिन्छ। अर्कातर्फ अधर्म वा नास्तिक विचारले यी सबै मूर्ति पूजालाई निरर्थक मान्दछ। नास्तिक चिन्तनअनुसार यस्ता कर्मबाट मानिसले वास्तविक रूपमा केही पाउँदैन, पाए टाढाको वा धेरै परको मनको शान्ति पाउने हो, नभए केही पाइँदैन।

किनकि यी सबै मूर्तिहरू वास्तवमा मानिसकै कल्पनाबाट बनेका देवी-देवताका रूप हुन्। जसरी कलाकारले आफ्नो मनमा लागेको कल्पनालाई क्यान्भासमा दुरुस्त उतार्छ, त्यसरी नै ठाउँ-ठाउँमा देवी-देवताका मूर्तिहरू बनाएर सोही अनुसारका सुहाउँदा मन्दिरहरू निर्माण र स्थापना गरिन्छ।

अनि पुनः उनैको पूजा र आराधना गरिन्छ। कुनै कुरा पाए पनि नपाए पनि केवल मनको शान्तिका लागि दिन-रात पूजा-अर्चना गरेर मानिसहरू आफ्नो अमूल्य जीवन र समय खेर फाल्छन्। अन्ततः खोजेका ईश्वर, अल्लाह, येशु, महावीर, कृष्ण, राम, शिव, ब्रह्मा, विष्णु-महेश्वर वा अन्य देवताहरूको दर्शन नै नपाई जीवन लीला समाप्त गर्दछन्।

नास्तिकवादीहरू भन्छन्- ईश्वर भन्ने कुरा एक भ्रम हो, यो एक नशा हो र यसको अभावमा मानिसलाई केही हुनेवाला छैन। यो पाप र धर्म भन्नाले मानिसको गति र अगतिको कर्म मात्र हो। वास्तविकतालाई अङ्गाल्न सके जीवन सधैँ सुखदायी हुन्छ।

अनि वास्तविकता भनेको वर्तमान समय नै हो, भूत वा भविष्य होइन। निश्चय न भूतकालमा रहन्छ, न त भविष्यमा नै। भूतकाल ऊर्जावान् हुँदैन र भविष्यको निश्चय हुँदैन; ऊर्जावान् र निश्चित त केवल वर्तमान समय नै हुन्छ।

त्यसैकारण ठूला अन्वेषकहरूले “प्रेजेन्ट टाइम इज द मोस्ट इम्पोटेन्ट टाइम” (वर्तमान समय नै सबैभन्दा महत्त्वपूर्ण समय हो) भन्दै आजका र भोलिका पुस्ताहरूलाई सन्देश दिएका छन्।

उनीहरूको भनाइ छ कि आजका मानिसहरूको सबैभन्दा उत्तम धारणा भनेको वैज्ञानिक तथा नवप्रवर्तनको चिन्तन र उच्च नैतिकता नै हो। यसैले नै संसार हाँकेर लैजाने हो। मानव सेवा, एक-अर्काप्रतिको भाइचारा, समन्वय, भ्रातृत्व, उर्वरा र जनशक्तिको व्यापक सदुपयोग नै कर्म हो।

अनि कर्म र सङ्घर्ष नै आजको ठूलो माग हो र भइरहनेछ। आजको जटिल र पेचिलो संसारमा बिना कर्म र संघर्ष सुख पाउन ज्यादै कठिन छ भने भोलिका दिनमा के होला भन्न सकिन्न।

कर्म गर्ने र वैज्ञानिक चिन्तन गर्ने व्यक्तिहरू चन्द्रमामा पुगिसके भने कर्म र संघर्ष दुवै नगरी खाली आध्यात्मिक चिन्तन, मूर्ति पूजा, अक्षता, फूल र नैवेद्य चढाएर हुँदै नभएको ईश्वरको पूजा-अर्चना गर्नेहरू पछाडि परेका छन्।

केवल काल्पनिक स्वर्गलोक र नर्कलोकको भ्रमपूर्ण व्याख्यान एवं प्रवचन दिएर हिँड्ने कतिपय धार्मिक मानिसहरू बाजे-बराजुका पालादेखि पुजारीका पुजारी नै छन् भने कतिपयले अकुत सम्पत्ति कमाएर आलीशान महलमा आफू मात्र बसेका छन्।

जीवनमा संघर्ष र कर्म नगरी देवी-देवता र धर्मको आडमा अर्काले दिएको रकम र धन-सम्पत्तिबाट जीवन निर्वाह गर्ने धर्मवादीहरूलाई नास्तिकहरू आलसी र अकर्मण्यताको संज्ञा दिने गर्दछन्।

तर, धार्मिकहरूले भने अधार्मिक (नास्तिक) हरूको वास्तविक धारणा नै नबुझी सिधै उनीहरूलाई अधार्मिक, नास्तिक, स्वर्ग-नर्कमा विश्वास नगर्ने तथा देवी-देवता र धर्ममा विश्वास नगर्ने भन्दै जहिले पनि हेलाको दृष्टिकोणले हेर्ने गर्दछन्।

धर्मका नाममा सयौँको चन्दा रकम र असंख्य दान-दातव्य ग्रहण गरेर ठूलाहरू देउताझैँ बनेर बस्ने, मझौलाहरू ठूला महल बनाएर, गाडी चढेर, गलामा सुनको सिक्री र नाडीमा स्मार्टवाच भिरेर हिँड्ने धर्मात्मा र धर्मगुरुहरू आफ्नै धारणा र विचारका देखिन्छन्।

वास्तवमा धर्मले स्थायी शान्ति पैदा गर्छ भन्ने मान्यता छ, तर व्यवहारमा त्यस्तो कतै देखिँदैन। धार्मिक गुरुहरू, पुजारीहरू तथा मठ-मन्दिरका मठाधीशहरू धेरैजसो पैसा र भेटीका लोभी हुन्छन्। पैसा नभएको पूजा-सामान उनीहरू राम्रोसँग ग्रहण गर्दैनन्।

धेरै रकम दिनेहरूको मान-सम्मान वेग्लै हुन्छ भने अरू धेरैजसो धर्मगुरुहरू थोरै पैसामा धार्मिक कार्यमा सहयोग गर्न मान्दैनन्; अरू टापटिपेको कुरा त छँदै छ।

यस्तो धर्मका नाममा ठाडै अधर्म र छुवाछूतको भावना लिई “यसले पूजा गर्ने, उसले गर्न नहुने”, “उ मन्दिरभित्र जान हुने, उ जान नहुने” जस्ता भेदभावका कुरा गरेर जनतालाई भ्रमित मात्र गरिरहने प्रवृत्ति के साच्चै धार्मिक हो र? के यी साच्चै ईश्वरवादी चिन्तक हुन्? यदि हुन् भने, यो एक पाखण्डपन र निमुखाहरूलाई काल्पनिक सुखभोगको रस पिउन लगाई आफू ऐस-आराममा बस्ने जुक्ति र जालीसाजी मात्र हो भन्दा के फरक पर्छ र?

पहिला कुनै जमानामा आफ्नो पुरुषार्थ गरी समय आएपछि मृत्यु वरण गरेका सयौँ पुरुषहरू- जनक, राम, कृष्ण, विष्णु, ब्रह्मा, पैगम्बर, महावीर, गुरु नानक, येशु जस्तै बितिगेका र आज भगवान् नै भनेर कहलिएका महापुरुषहरू- सत्य साईबाबा, ओशो रजनीश के फेरि यो धर्तीमा यसैगरी जन्मिएलान् त? यो भन्न सकिन्न। यो त मानिसको आ-आफ्नो व्यक्तिगत धारणा हो।

आज फेरि धर्मकै नाममा र जातीयताकै नाममा संसारमा किन हत्या र हिंसा भइरहेको छ? किन भाइ-भाइमा झगडा भइरहेको छ? किन हिन्दु र मुसलमानमा दङ्गा-फसाद भइरहेको छ? यो गुट र फुटको द्वन्द्वमा मानिसहरू किन फसिरहेका छन्? किन मन्दिर र मस्जिदहरू भत्काpostइरहेका छन्? यो आज एक अहम प्रश्न बनेको छ।

अर्को कुरा, “धर्म नासिएमा परिचय नासिन्छ” भनिन्छ। तर परिचय वास्तवमा आफ्नो जन्म, जन्मथलो, योग्यता, मानव सेवा र मानव कल्याणको परम परिचय हो। के यही परिचयले मानिसको पहिचान खुल्दैन र? अवश्य खुल्छ।

बीचको मध्यमार्ग

यी सबै कुराको विवेचना र विश्लेषण गर्दा, यो द्वन्द्वको धारणालाई निर्णयात्मक मोड दिन आजभन्दा लगभग २६०० वर्षअगाडि एक महान् व्यक्ति गौतम बुद्धको जन्म भयो।

उनले बिचमा रहेर “ईश्वर मान्नेलाई मान्न देऊ र नमान्नेलाई नमान्न देऊ, जसको जे धारणा छ त्यसैमा आफ्नो जीवन बिताउन देऊ” भन्ने मध्यम मार्गको विकास गरे। उनका अनुसार मानिसमा हुनुपर्ने मुख्य कुरा मानवता, सेवा, विवेक र कल्याणकारी काम नै हो। यसैले नै मानिसलाई उत्कृष्टतामा पुर्‍याउँछ।

निष्कर्ष

संसारमा लगभग ८ अर्ब मानिसहरू छन्। हरेक मानिस स्वतन्त्र हुनुपर्दछ। कसैले कसैलाई आफ्नो धर्मको प्रभाव देखाएर, आफ्नो धर्मलाई बढावा दिएर बन्धनमा पार्नु हुँदैन। बन्धन आखिर बन्धन नै हो।

बन्धनमा परेको कुनै पनि मानिस स्वतन्त्र बन्न सक्दैन- चाहे त्यो राजनीतिक, आर्थिक, सामाजिक वा धार्मिक बन्धन नै किन नहोस्। यी सबै मानिसले नै निर्माण गरेका संरचनाहरू हुन्, न कि कुनै ईश्वर वा भगवान्‌ले बनाएको नियम, संरचना, पेसा वा वृत्ति। यसमा ईश्वरको कुनै लेखाजोखा छैन।

ईश्वरका नाममा कोही मारकाट गर्छन्, कोही लडाइँ गर्छन्, कोही पाठ-पूजा गर्छन्, कोही होम-होमादि गर्छन्, त कोही हजारौँ रकम लगानी गरेर ठूला-ठूला मन्दिर, मस्जिद र चर्च निर्माण गर्छन्।

तर यही धर्तीमा आफूसँगै रहेका करोडौँ गरिब, निर्धा, निमुखा र भोका-नाङ्गाहरूलाई भने सधैँ कम महत्त्व दिन्छन्। के धर्मले यही खोजेको हो? के धर्ममा गरिब गरिबै रहून् र धनी झन् धनी बन्दै जाऊन् भनेर कहीँ लेखिएको छ? अवश्य छैन होला।

तसर्थ, निष्कर्षमा धर्म वा अधर्म त्यस्तो कुनै अलौकिक चमत्कार होइन। चमत्कार त मानिस-मानिसबीचको प्रेम, दया, भाइचारा, समन्वयता, सेवा र विवेक नै हो।

अतः अन्त्यमा

गुण मिले गुरु बनाऊ, चित्त मिले शिष्य बनाऊ;
प्रेम मिले प्रेम जगाऊ, निराशा नबनी आशा जगाऊ;
ज्ञान नमिले विवेक जगाऊ, रिस होइन संयमता देखाऊ;
धर्ममा मानवको सेवा गर, अधर्ममा मारकाट र हत्या-हिंसा नगर;
सबैप्रति मित्रभाव राख र संसारमा भोलिका लागि सम्झिने काम गर।

सधैँ आफूले आफूलाई हेर, बुझ र जान- शान्ति, सुख, आनन्द र ईश्वर जे भने पनि ती सबै तिम्रै र हाम्रै हृदयभित्र रहेका छन्। हामी जे खोज्छौँ, त्यही पाउँछौँ। अरू सबै भ्रम र दिग्भ्रमित धारणा अनि विचारका पुलिन्दा मात्र हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *