सिर्जनाको चौबाटोमा मर्दै गएको संवेदना

ज्ञानेन्द्र विवश
१६ साउन २०८३ ७:५२

आज मैले लेख्न खोजेको निबन्ध यस्तो होइन; तर मेरो मनमस्तिष्कमा यस्तै भावनाहरूले निरन्तर आक्रमण गरिरहे। म मेरा शब्दहरूका प्रत्येक भावमा आफूलाई कसरी व्यक्त गरूँ भन्ने छटपटीमा परिरहेँ।

वास्तवमा प्रत्येक शब्दलाई अनुभूतिका अक्षरहरूमा अभिव्यक्त गर्नु भनेको ती शब्दहरूसँगको सानोतिनो संघर्ष नै हो। तर यो संघर्ष मारकाट वा वैमनस्यको हुँदैन, आपसमा दूरी बढाउने किसिमको पनि हुँदैन। यो संघर्ष त मित्रताको हुन्छ, मिलनको हुन्छ, सुखद भेटको हुन्छ, शब्द-सौन्दर्यको नयाँ आलेख निर्माणको हुन्छ र सिर्जनात्मक यात्राको हुन्छ।

म यस्तै नवीनतम् सिर्जनात्मक यात्राको चौबाटोमा थिएँ। शब्दहरू खोज्दै थिएँ, अनुभूतिहरू सँगाल्दै थिएँ र भावनाहरू बटुल्दै थिएँ। तर अकस्मात् देशका दर्दनाक र पीडादायी दृश्यहरूले मलाई चिथोर्न थाले। त्यस चिथोर-जाथोरको आक्रमणमा म शब्दविहीन बन्न पुगेँ।

मेरा अनुभूतिहरू अभिव्यक्त हुँदै गर्दा मैले आफूलाई मानिसभित्र मर्दै गएको संवेदना पोख्न थालेको पाएँ। मानवीयताको निर्मल गोरेटोमा बदलाको भावनाले हुर्किँदै गएका पालुवाहरूलाई ऐँजेरूले पनि मार्न सकेन; बरु आलाकाँचा र कट्मेरा ज्यानहरूको समेत हुर्मत लियो। हुनेखाने त भइगए, केही नहुने हरितन्नमको झन् हरिविजोग भयो।

हामी रहे मात्र देश रहन्छ, देश रहे मात्र हामी रहन्छौँ। मिलिजुली बसेमा नै सद्भाव कायम रहन्छ। झैझगडा र आपसी दुश्मनीले कहाँ कसको अनुहारमा खुसीको मुस्कान पोत्न सक्छ र? हुन त आँसु त्यसै झर्दैन, रगत त्यसै बग्दैन।

मित्रताको पहिचान नै महानताको यात्रा हो। आपसमा हाँसीखुसी बोल्नु र बाँच्नु नै जीवनको सत्य हो। तर आज हामीबीच किन द्वन्द्वको दूरीले आपसी मित्रतालाई आघात गरिरहेछ? छिमेकीपन र दाजुभाइको सम्बन्धमा किन तुषारापात भइरहेछ?

आँधीबेरीको अहंकारसँगै वेगले हुइँकिएर आएको आक्रोशको ज्वाला नेपाली-नेपालीको टाउको फोड्न, हातखुट्टा भाँच्न अग्रसर भयो। लठ्ठी, भाला र तरवारका निर्मम प्रहार आपसमै हुन थाल्दा र लुटपाट मच्चिँदा एकातिर रूवाबासी, अर्कोतिर अट्टहास! यो कति असुन्दर, असभ्य र भद्दा आनीबानी हो?

हामीभित्रको मानवता किन मरेको हो? हामीभित्रको दया-मायाको भावनाले किन मृत्युवरण गरेको हो? के हामीले यसरी आफूले आफैँलाई दुखाइरहँदा पराइलाई खुसी दिने चेष्टा गर्न खोजेको हो? आफन्त रुवाएर छिमेकी तर्सिने होइन, बरु पल्किने निश्चित छ।

देश जलिरहेछ, मान्छे मरिरहेछन्। आँखाबाट आँसु होइन, रगतको धारा बगिरहेछ। यो कस्तो विडम्बना! शान्त र सुन्दर देश किन यसरी विध्वंसतिर उन्मुख भइरहेछ?

मान्छे आफैं कालगतिले मर्नु र आफूले आफैँलाई अग्निज्वालामा पारेर मार्नु मान्छेको कति निष्ठुरी मन हो? मान्छेले आफूलाई कसरी परमधामको बाटोतिर लैजान सकेको हो?

यस्तो अवस्था निम्तिनु भनेको घोर निराशाको परिणाम मात्रै हुन सक्दैन, असफलताको परिणाम मात्रै पनि मान्न सकिँदैन। यसका पछाडि धेरै कारणहरू छन्।

कति मान्छे मरिन्छ कि भनेर डराउँछन्। कति मान्छे अझै बाँच्न पाए हुन्थ्यो भनेर कामना गर्छन्; अनेक पूजापाठ र भाकल गर्छन्। कति मान्छे रोगसँग लडेर र लाखौँ खर्च गरेर भए पनि बाँच्ने अभिप्रायमा मरिहत्ते गर्छन्।

कति मान्छे मर्न पाए हुन्थ्यो भन्दै रोगसँग लडेर पनि बाँचिरहेका छन्। मर्ने इच्छा गरेर मात्रै मान्छे मरिहाल्दो रहेनछ, बाँच्ने चाहना गर्दैमा मान्छे बाँचिरहन पनि सक्दैन रहेछ। कति मान्छे बोल्दाबोल्दै मर्छन् त कति मान्छे असह्य आक्रोशका कारण मर्छन्।

तथापि अहिलेको अवस्था अझ उग्र रूप लिन थालिसकेको छ। आपसी काटमार, झगडा र वैमनस्यको तुषले मान्छेका मन राक्षसी प्रवृत्तितिर उन्मुख भइरहेका छन्। यस्तोमा मानवता मर्छ। हृदयको हार्दिकता कता हराउँछ कता! यसपछि एक्कासी कतैबाट विद्रोहको भाव जाग्छ र मान्छे विध्वंसको बाटोतिर उन्मुख हुन्छ। हिंसा भड्किएपछि र मन तड्पिएपछि मान्छेले मान्छेलाई मार्न कुनै कसर बाँकी राख्दो रहेनछ।

मिलिजुली बाँच्ने, हाँसीखुसी जीवन गुजार्ने नेपाली मन यसरी आपसमा मर्नु र मार्नुको स्थितिमा पुग्नु भनेको मानवता मर्नु हो। फेरि पनि म चौबाटोमा उभिएर चारैतिर नियाल्छु। मेरो सिर्जनाको बगैँचामा फूलहरू फुलिरहेका छैनन्; त्यहाँ त काँडा मात्रै हिंस्रक स्वरूपमा उभिएका छन्। मर्दै गइरहेको मान्छेको संवेदना देखेर मलाई अचम्म पनि लाग्छ।

अन्ततः कसैले कसैलाई मारेर ठूलो जित हासिल गर्न सक्दैन, ठूलो खुसी र सन्तुष्टि प्राप्त गर्न पनि कदापि सक्दैन। मान्छेले मान्छेलाई माया गर्न सक्नुपर्छ। आपसमा सहयोग र सद्भाव बाँड्न सक्नुपर्छ।

मान्छेभन्दा ठूलो यहाँ कोही छैन, मान्छेभन्दा सानो पनि कोही छैन। सबै समान छौँ। सधैँ मिलिजुली बाँचेर आएका हामी आज किन एक-अर्काको दुश्मन बनिरहेछौँ? मान्छेको मन यसरी आपसमा विभाजित भएर हिंसामा उत्रिँदा मन किन यसरी दुखिरहेछ? तमाम मान्छेका आ-आफ्नै भोगाइ र जीवनका दुखाइहरू छन्।

ती सबैलाई सामान्य ठानेर जीवनको यात्रामा हामी अघि बढ्नु नै छ। भाग्यले कहाँ लगेर यो जीवनलाई कसरी टुङ्ग्याउँछ, यो कसैले भन्न सक्दैन। छठीमा भाग्यले लेखेको कुरा कसैले मेटाउन सक्दैन। काल कहाँ गएर बसेर पर्खिरहेको छ, हामीले भन्न सक्दैनौँ।

यस्तै भावनाहरू मनमा हुँडुलिरहेका बेला कवयित्री तथा साहित्यकार उषा शेरचनले मनका भाव यसरी व्यक्त गर्नुभयो- “हामी कहाँ पुग्दैछौँ? संसारमा पीडा नभएको मानिस सायदै होला। फरक यत्ति हो, कसैले आफ्नो पीडा व्यक्त गर्छ त कसैले मनभित्र दबाएर बाँच्छ।”

उहाँ अगाडि लेख्नुहुन्छ- “हाम्रो समाजमा वर्षौँदेखिको राजनीतिक अस्थिरता, आर्थिक सङ्कट, महङ्गी, बेरोजगारी, प्राकृतिक विपत्ति, व्यापार-व्यवसायमा घाटा, सामाजिक दबाब र विभेद अनि पारिवारिक तनावले धेरैको मन थिलथिलो बनाएको छ। मानसिक स्वास्थ्यको विषय अब बेवास्ता गर्ने बेला नभई गम्भीर रूपमा सोच्ने समय आइसकेको छ।”

यसैबीच अर्का अग्रज साहित्यकार सरुभक्तको भावनासँग मेरो भावना पनि मेल खाएको अनुभूति पढ्न पाएँ। तिनले मलाई झन् बेचैन बनाए। सिर्जनाको चौबाटोमा मर्दै गइरहेको संवेदनाले आहत मन मजस्तै अरू धेरै सर्जकहरूको पनि रहेछ।

मुक्तकीय भावमा सरुभक्त लेख्नुहुन्छ-

देशको भलो कहाँ हुन्छ जब अग्निबीजहरू बढेर गए,

धर्म र जातिका नाममा विषालु भावनाहरू छरेर गए।

प्रत्येक नेपालीले अन्तरात्मादेखि कहिले पो बुझ्ने हो,

कि, रहने छैन देश हाम्रो सहिष्णुता, सद्भाव मरेर गए!

वास्तवमा आजको घटना हेर्दा दुःखदायी त छँदै छ, यसले भयावह रूप लिएर कतै अनिष्ट निम्त्याउने हो कि भन्ने भय पनि त्यत्तिकै छ। त्यसैले उषा शेरचन सान्दर्भिक प्रश्न गर्नुहुन्छ- “आत्महत्या वा आत्मदाहजस्ता हरेक दुःखद घटनाले हामी सबैलाई एउटा प्रश्न सोधिरहेका छन्- के हामी मानिसको पीडा बुझ्न र समयमै साथ दिन सफल भएका छौँ?”

उहाँले भन्नुभएझैं दुर्भाग्यवश, यस्ता दुःखद घटनाबाट पाठ सिकेर समाधान खोज्नुको सट्टा लासहरूमाथि राजनीति गर्ने प्रवृत्ति झन् बढ्दो देखिन्छ। यसले समाधान त दिँदैन नै, बरु उल्टै पीडामाथि झन् पीडा थप्ने काम गर्छ।

सबैभन्दा ठूलो चोट त पहिले नै अपूरणीय क्षति बेहोरेका परिवार र आफन्तहरूले फेरि अनावश्यक आरोप, टिप्पणी र राजनीतिक खिचातानीका कारण व्यहोर्नुपरिरहेको छ।

हो, वास्तवमा समाजलाई सधैँ सचेत गराउँदै सुसूचित पारिराख्ने राज्यको चौथो अङ्ग मानिने सञ्चारमाध्यमले पनि यतिबेला अहम् भूमिका खेल्नुपर्ने हो।

शेरचन दिदीले भन्नुभएको जस्तै- “यसका लागि सञ्चारमाध्यम र पत्रकारहरू अझ संवेदनशील, जिम्मेवार र मानवीय बन्नु आजको अपरिहार्य आवश्यकता हो। समाचारले केवल सूचना मात्र दिने नभई समाजमा चेतना र जिम्मेवारी पनि प्रवाह गर्नुपर्छ।”

फेरि पनि उहाँकै यी भावनाका पङ्क्तिहरू साभार उल्लेख गर्नु सान्दर्भिक हुन्छ। उहाँ लेख्नुहुन्छ- “हामीलाई आज आरोपभन्दा बढी आत्मचिन्तन, घृणाभन्दा बढी सहानुभूति र राजनीतिभन्दा माथि उठेर मानवताको आवश्यकता छ। किनकि कुनै पनि विचार, कुनै पनि सत्ता र कुनै पनि राजनीति एउटा मानिसको जीवनभन्दा ठूलो हुन सक्दैन।”

आज आफू पनि आफैँसँग खुसी हुने प्रयत्न गरौं। अरू कसैको खुसी खोस्ने कुचेष्टा कदापि नगरौँ। अरूको आँसु देख्दा हाँसोमा नउडाऔं, बरु मल्हमपट्टीले आराम गराउने कोसिस गरौं।

अरूको अनुहारको मुस्कान जोगाउने प्रयास गरौँ। मर्दै गइरहेको संवेदनाहीन हृदय होइन, संवेदनशील हृदयको व्यवहारले मान्छेको मन जित्ने र खुसी ल्याउने प्रयत्न गरौँ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *