पालिका तहका आधारभूत अस्पताल निर्माणको प्रगति अत्यन्तै कमजोर: सांसद तोसिमा कार्की
काठमाडौं। प्रतिनिधिसभा सांसद तोसिमा कार्कीले पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरूको प्रगति अत्यन्तै कमजोर रहेको बताएकी छन्।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा भएको छलफलका क्रममा उनले यस्तो धारणा राखेकी हुन्।
छलफलका क्रममा सांसद कार्कीले सरकारले देशभर निर्माण गर्ने लक्ष्य लिएका आधारभूत अस्पतालमध्ये हालसम्म केवल १७ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको तथ्यांक प्रस्तुत गरिएको उल्लेख गरिन्।
निर्माण सम्पन्न भइसकेका अस्पतालहरूमध्ये पनि कतिपयले सरकारले तोकेको मापदण्ड पूरा गरेर पूर्ण रूपमा सञ्चालनमा आएका छन् वा छैनन् भन्ने स्पष्ट विवरण सार्वजनिक नगरिएको दाबी उनले गरिन्।
सरकारले ५ शय्या र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेको वर्षौँ बितिसक्दा पनि हालसम्म १७ प्रतिशत मात्रै निर्माण सम्पन्न हुनु दुःखद रहेको उनले बताइन्।
निर्माण सम्पन्न भएका भनिएका अस्पतालहरूमध्ये वास्तविक रूपमा कति सञ्चालनमा छन् भन्ने तथ्यांक नभएकाले मापदण्ड अनुसार पूर्ण रूपमा सञ्चालनमा रहेका अस्पतालहरूको अनुगमन गर्नुपर्ने आवश्यकता उनले औँल्याइन्।
जनताको स्वास्थ्यका क्षेत्रमा लगानी गर्न सरकारले कहिल्यै कञ्जुस्याइँ गर्न नहुने जोड दिँदै सांसद कार्कीले विकासको पहिलो सूचक नै स्वस्थ नागरिक भएको उल्लेख गरिन्।
भौतिक र मानसिक रूपमा स्वस्थ भएका नागरिकले मात्रै देशको विकासमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment