धागोको सीपबाट फेरिँदै महिलाको दैनिकी: घरधन्दामै सीमित आमाहरू आत्मनिर्भर बन्दै
तुलसीपुर (दाङ)। दाङको बंगलाचुलीकी सुमिला नेपाली अहिले घोराहीमा बसेर छोरी पढाउँदै आएकी छन्। पहिले छोराछोरीलाई स्कुल पठाएपछि घर फर्केर टिकटक र फेसबुक चलाएर समय बिताउनुबाहेक खासै अन्य काम हुँदैनथ्यो। तर, अहिले दैनिकी पूर्ण रूपमा फेरिएको छ। धागोबाट विभिन्न बुनाइ सामग्रीहरू तयार पार्न उनी निकै व्यस्त छिन्।
“पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउन पनि कठिन हुन्थ्यो,” नेपालीले भनिन्, “तर अहिले समय बिताउन पनि सहज भएको छ र आम्दानी पनि भइरहेको छ।”
धागोबाट विभिन्न घरायसी तथा उपयोगी सामग्री बुन्न थालेपछि हातमा धागो र सियो मात्र परेको छैन, नयाँ सीप सिकेर आत्मनिर्भर बन्ने दरिलो आत्मविश्वास पनि थपिएको छ।
त्यस्तै, पूर्वी रुकुमकी झरना बुढामगर पनि अध्ययनका लागि दाङको घोराही आएकी हुन्। पढाइबाहेकको खाली समय कसरी उपयोग गर्ने भन्ने अन्योलमा रहेकी बुढामगरको दैनिकी पनि अहिले बदलिसकेको छ। घोराहीस्थित स्वप्न होजियारी उद्योगसँग जोडिएपछि उनले धागोबाट विभिन्न रचनात्मक सामग्री बनाउन सिकिन्।
“अहिले त काममै व्यस्त भइयो,” उनले भनिन्, “नयाँ कुरा सिक्न पाउँदा धेरै फाइदा भएको छ।”
सुमिला र झरनाजस्तै अहिले धेरै महिलाहरू धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त रहने गरेका छन्। हिजोसम्म घरधन्दा र छोराछोरीलाई स्कुल पठाएपछि ‘के गर्ने?’ भन्ने द्विविधामा रहेका महिलाहरू अहिले व्यावसायिक काममा जोडिन थालेका छन्। उनीहरूको हातमा क्रुस र सियोसँगै आत्मनिर्भर बन्ने एउटा बलियो आधार स्पष्ट देखिन थालेको छ।
उनीहरूले हाल स्याउ, सुन्तला, गाजरजस्ता फलफूल र तरकारीका आकर्षक ढाँचाका सामग्रीहरू बनाउने सीप सिकिसकेका छन्। उद्योगमा कार्यरत महिलाहरू विद्यालयका लागि आवश्यक पर्ने वर्णमाला, शैक्षिक सामग्री र खेलौनाहरू बनाउन पनि उत्तिकै व्यस्त हुने गरेका छन्। विशेष गरी ‘ए प्लस (A+)’ देखि ‘जेब्रा (Zebra)’ सम्मका ‘ए टु जेड’ शैक्षिक सामग्रीहरूसमेत धागोबाटै तयार पार्ने गरिएको छ।
उक्त उद्योगकी प्रमुख रचना सुवेदीका अनुसार हाल विभिन्न ५६ प्रकारका धागोका सामग्रीहरू बनाउने गरिएको छ। दाङको घोराहीमा मुख्य उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले स्थानीय महिलाहरूलाई सीपमूलक तालिम दिएर सोझै रोजगारीसँग जोड्दै आएको छ।
अहिले विद्यालयहरूले समेत शिक्षण सिकाइका लागि धागोबाट बनेका सामग्री नै रोज्न थालेपछि यसको माग ह्वात्तै बढेको सुवेदी बताउँछिन्। “सबै सामग्री धागोबाटै बनाउन थालेपछि हामीले निकै काम पाएका छौँ,” सुवेदीले भनिन्, “विद्यार्थीलाई सिकाउन पनि सहज हुने र वातावरणमैत्री हुने भएकाले सबैतिरबाट यसको माग बढेको छ।”
ऊनबाट तयार पारिएका यी सामग्रीहरू विशेष गरी साना बालबालिकाका लागि पूर्ण रूपमा सुरक्षित मानिन्छन्। अन्य कडा सामग्री जस्तो चोटपटक लाग्ने जोखिम कम हुने, बालबालिकाले सजिलै प्रयोग गर्न सक्ने र धोएर पुनः प्रयोग गर्न सकिने भएकाले पनि यसप्रति अभिभावक र विद्यालयको आकर्षण बढेको हो।
सुवेदीका अनुसार उद्योगको मुख्य उद्देश्य व्यापार गर्नु मात्र नभई स्थानीय स्तरमै स्वरोजगार सृजना गर्नु हो। हाल उद्योगमा १५ जनाभन्दा बढी महिला श्रमिकहरू प्रत्यक्ष रूपमा कार्यरत छन्। उनीहरूलाई पहिले काम सिकाइन्छ र त्यसपछि रोजगारी प्रदान गरिन्छ। “हामी काम पनि सिकाउँछौँ र रोजगारी पनि दिन्छौँ,” सुवेदीले भनिन्, “श्रमिकलाई उनीहरूले बनाएका सामग्री बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत लाभांश दिने गरेका छौँ।”
जस्तै, धागोबाट बनेको ‘ए टु जेड’ को एउटा सेट पाँच हजार रुपैयाँमा बिक्री हुने गर्छ। त्यसरी बिक्री भएपछि प्राप्त रकमको ५० प्रतिशत (अर्थात् २५०० रुपैयाँ) सिधै सामग्री बनाउने श्रमिकलाई दिइन्छ। पछिल्लो समय यस्ता शैक्षिक र सजावटका सामग्रीको माग निरन्तर बढिरहेको सुवेदीले जानकारी दिइन्।
घोराहीमा विसं २०६३ देखि सञ्चालनमा आएको उक्त स्वप्न होजियारी उद्योगले स्थापनाकालदेखि नै होजियारीसम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ। सोही तालिमका कारण दाङका मात्र नभई छिमेकी जिल्लाका सयौँ महिलाहरूले पनि रोजगारी प्राप्त गर्न सफल भएका छन्।
उद्योगले दाङ बाहिरका विभिन्न जिल्लाहरूमा पुगेर पनि महिलाहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आएको छ। हिजो सामान्य धागो र सियोबाट सुरु भएको यो सीप अहिले धेरै महिलाहरूका लागि केवल आम्दानीको स्रोत मात्र नभएर स्वावलम्बी र आत्मनिर्भर बन्ने एउटा मुख्य बाटो बनेको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment