ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर: न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ।
योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत मात्र प्रिमियम थपेर अटो लोन पाउनेछन्।
यसअनुसार ग्राहकले हालको आधारदरमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमै कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकको आधारदरमा हुने घटबढअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुने बैंकले जनाएको छ।
साथै, एक्सपोमा नयाँ विद्युतीय सवारी (इभी) खरिद गर्ने ग्राहकका लागि बैंकले ३ वर्षसम्म ५.९९ प्रतिशतको स्थिर (फिक्स्ड) ब्याजदर योजना ल्याएको छ। ३ वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी कायम गरिनेछ।
स्टलबाटै कर्जा आवेदन र ३ दिनभित्र स्वीकृति
ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपो परिसरमै आफ्नो स्टल राखेर गाडी किन्न इच्छुक ग्राहकलाई कर्जा प्रक्रिया अगाडि बढाउने व्यवस्था मिलाएको छ।
ग्राहकले उक्त स्टलबाटै पनि कर्जाका लागि सोझै आवेदन दिन सक्नेछन्। आवश्यक सम्पूर्ण कागजात पूरा भएपछि बैंकले अधिकतम तीन दिनभित्रै कर्जा स्वीकृति पत्र (सङ्क्शन लेटर) प्रदान गर्ने जनाएको छ।
नेपालका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको पहिलो निजी वाणिज्य बैंक ग्लोबल आइएमई बैंकले हाल ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा दिँदै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment