कुमारी बैंकद्वारा १० लाखको बीमा दाबी रकम हस्तान्तरण
दाङ। कुमारी बैंक लिमिटेडको गढवा शाखाले ‘परिवार सुरक्षा बचत खाता’ (PSBK) अन्तर्गतको बीमा सुविधाबमोजिम हितग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
स्थानीय खुमा पौडेलका श्रीमान्को दुःखद दुर्घटनाजन्य निधनपश्चात् परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी कुमारी बैंकको गढवा शाखाले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो। उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ।
कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ।
‘परिवार सुरक्षा बचत खाता’अन्तर्गत प्रदान गरिने यस्तो बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यअनुरूप सञ्चालित यस्ता सुविधाहरूले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै ग्राहक तथा निजको परिवारलाई आवश्यक समयमा वित्तीय सहयोग प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका ३०२ शाखा, ३१४ एटिएम, ५० विस्तारित काउन्टर र ४० शाखारहित बैंकिङ बिन्दुमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपालको जुनसुकै स्थानमा बसोबास गर्ने प्रत्येक नेपालीलाई सहज, सुरक्षित तथा गुणस्तरीय बैंकिङ पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतासहित सहरी, अर्ध-सहरी तथा ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै लगेको छ। साथै, ग्राहकको वित्तीय सुरक्षालाई थप सुदृढ बनाउने हेतुले बैंकले विभिन्न निक्षेप, बीमा तथा बैंकिङ सेवाहरू सञ्चालन गरिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment