सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालु २०८३’ सम्पन्न, उत्कृष्ट कर्मचारी तथा प्रबन्धक सम्मानित
पोखरा। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आयोजनामा गत आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन, उत्कृष्ट कर्मचारीलाई सम्मान तथा आगामी वर्षको रणनीतिक योजना तर्जुमा गर्ने उद्देश्यले ‘भिजन टु भ्यालु २०८३’ (Vision to Value 2083) कार्यक्रम सम्पन्न भएको छ। “इम्पारिङ द पिनाकल फर एलाइट रिजल्ट्स” (Empowering the Pinnacle for Elite Results) भन्ने नाराका साथ पोखराको एक होटलमा सो दुई दिने कार्यक्रम सञ्चालन गरिएको थियो।
कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया तथा सञ्चालक समिति सदस्य भरतकुमार तोदीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, उत्कृष्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर तथा कस्टमर सर्भिस अफिसरहरूको उपस्थिति रहेको थियो।
सम्बोधनका क्रममा अध्यक्ष रतनलाल केडियाले गत आर्थिक वर्षमा कुल बीमाशुल्क सङ्कलनमा हासिल भएको सफलताप्रति सम्पूर्ण कर्मचारी वर्गलाई बधाई ज्ञापन गरे। उनले सामूहिक प्रयास र अन्तरविभागीय समन्वय नै निरन्तर सफलताको मुख्य आधार रहेको उल्लेख गर्दै आगामी वर्ष नयाँ उत्पादनमा नवप्रवर्तन, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) र शाखा कार्यालयहरूको मानकीकरणलाई प्राथमिकता दिइने बताए।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन र कानुनको परिपालनालाई जोड दिँदै उत्पादन विविधीकरण एवं बजारको मागअनुसार सेवा प्रवाह गर्न निर्देशन दिए। उनले दीर्घकालीन वृद्धि र बीमितको हित संरक्षणमा कम्पनी प्रतिबद्ध रहेको स्पष्ट पारे।
कार्यक्रममा गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्दै तोकिएको लक्ष्य हासिल गर्न सफल क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा तथा उपशाखा प्रमुख, मार्केटिङ अफिसर र कस्टमर सर्भिस एक्जिक्युटिभहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा नायब प्रमुख कार्यकारी अधिकृत कँडेलले गत आवको वित्तीय विवरण प्रस्तुत गर्दै कम्पनीलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध भएर लाग्न आग्रह गरे भने उत्कृष्ट प्रबन्धकहरूले आफ्ना कार्यअनुभव आदानप्रदान गरेका थिए।
हाल देशभर १६९ शाखा सञ्जाल र २० हजारभन्दा बढी अभिकर्तामार्फत सेवा दिँदै आएको सानिमा रिलायन्स लाइफको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी र कुल लगानी २५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीले डिजिटल सेवा विस्तार, सरल दाबी भुक्तानी र ग्राहक-केन्द्रित प्रविधिमार्फत अग्रणी बीमा कम्पनीका रूपमा आफूलाई स्थापित गर्दै लगेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment