माथिल्लो त्रिशूली ३ ‘ए’ टनेलमा ३८ जना फसेको अनुमान: बिस्फोट गराएर टनेलको मुख खोलियो
काठमाडौं। भोटेकोसी र त्रिशूली नदीमा गत बुधबार आएको भीषण बाढीका कारण ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र ३८ जना प्राविधिक तथा कर्मचारी फसेको अनुमान गरिएको छ।
फसेकाहरूको उद्धारका लागि रातभर निरन्तर प्रयास जारी राखिएको छ। टनेलको ‘केवल पोर्टल’ सफा गर्ने क्रममा सोमबार बिहान ३ बजे बिस्फोट (ब्लास्ट) गराएर सुरुङको मुख खोलिएको छ। सुरुङ खुलाएपछि भित्र ठूलो मात्रामा पानी जमेको पाइएकाले ‘वाटर पम्पसेट’ प्रयोग गरी ड्रेनेज/पानी बाहिर निकाल्ने (डीवाटरिङ) काम तीव्र पारिएको छ।
उद्धार कार्यलाई थप गति दिन र डीवाटरिङ प्रक्रियालाई प्रभावकारी बनाउन उच्च क्षमताका थप डीजी सेट (डीजल जेनेरेटर) तथा पम्प सेट लगायतका आवश्यक उपकरणहरू निर्माण स्थलमा पुर्याइसकिएको छ। साथै, टनेलको मुखमा जम्मा भएका ठूला ढुङ्गा र माटोको थुप्रो हटाई भित्र प्रवेश गर्ने सुरक्षित मार्ग तयार पार्ने काम पनि भइरहेको छ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र सबै उपलब्ध संयन्त्रहरू परिचालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य सुनील कुमार ढुङ्गेल, र कार्यकारी निर्देशक सहितको उच्चस्तरीय टोली घटनास्थलमा पुगेको छ।
यसैगरी, प्राधिकरणका उप-कार्यकारी निर्देशकहरूका साथै भूगर्भविद् (जियोलोजिस्ट) र अन्य विज्ञहरूको टोलीले समेत घटनास्थल पुगेर उद्धारका सम्भावित अन्य प्राविधिक विकल्पहरूको अध्ययन गरिरहेको छ। नेपाली सेना, विद्युत् प्राधिकरण र प्राविधिक टोलीले टनेल भित्र अक्सिजन र क्यामेरा पठाउने तयारीसहित उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment