भोटेकोशी बाढीपीडितका लागि कांग्रेस काभ्रेद्वारा केन्द्रीय कोषमा साढे १७ लाखभन्दा बढी हस्तान्तरण
काठमाडौं। नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितहरूको राहत तथा उद्धारका लागि पार्टीको केन्द्रीय कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि काभ्रे कांग्रेसले पार्टी सदस्य एवं शुभेच्छुकहरूबाट उक्त रकम संकलन गरेको हो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर काभ्रे कांग्रेसका सभापति तीर्थ लामाले पार्टीका सह-महामन्त्री उदयशमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई उक्त रकमको चेक हस्तान्तरण गरे।
सङ्कलित रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा पठाइने कांग्रेसले जनाएको छ। नेपाली कांग्रेसले विपद् प्रभावितका लागि सरकारी कोषमा कूल १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै सह-महामन्त्री उदयशमशेर राणाले विपद्को यस कठिन घडीमा पीडितको सहयोगका लागि अघि बढेकोमा काभ्रे कांग्रेसप्रति आभार व्यक्त गरे। त्यसैगरी, प्रवक्ता देवराज चालिसेले काभ्रेली कांग्रेसजनले ठूलो मन देखाएर पीडितको घाउमा मल्हम लगाउने सराहनीय काम गरेको बताए।
काभ्रे कांग्रेसका सभापति तीर्थ लामाले प्राकृतिक विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु, मानवीय सहयोग जुटाउनु र उद्धार एवं राहतमा हातेमालो गर्नु सबैको साझा दाय दायित्व भएको उल्लेख गर्दै यो सहयोगले पीडितहरूलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment