विपद् व्यवस्थापन र राहत वितरण प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

डिसी नेपाल
१५ भदौ २०८३ १४:५२

काठमाडौं।  नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार तथा व्यवस्थापनको काम सुस्त र अप्रभावकारी भएको भन्दै सरकारलाई थप गम्भीर हुन आग्रह गरेका छन्।

कांग्रेस संसदीय दलको बैठकमा विपद्को पछिल्लो अवस्थाबारे छलफल भएको जानकारी दिँदै सचेतक राईले सामाजिक सञ्जाल र प्रचारमा सरकार अत्यन्त सक्रिय देखिए पनि प्रभावित क्षेत्रको वास्तविक धरातल भने बिल्कुल फरक रहेको बताए।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बे आफैँ प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको उल्लेख गर्दै राईले स्थानीय जनप्रतिनिधि र पीडितहरूसँगको सम्पर्कबाट राहतको अवस्था भद्रगोल रहेको पाइएको जानकारी दिए।

उनका अनुसार वास्तविक आवश्यकता भएका नागरिकले अहिलेसम्म राहत पाउन सकेका छैनन् भने कतिपय ठाउँमा राहत सामग्री उपयोगविहीन भएर थुप्रिएको छ। राहत सामग्रीको भण्डारण र वितरणको दायरालाई सरकारले प्रभावकारी बनाउन नसकेको उनको भनाइ छ।

सरकारले लागू गरेको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय नभएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। प्रभावित नागरिकको यकिन तथ्याङ्क स्थानीय तहसँग हुने भएकाले उनीहरूलाई पाखा लगाएर राहत वितरण प्रभावकारी हुन नसक्ने राईले स्पष्ट पारे।

उनले विपद्अघिको जनसङ्ख्या, हाल सम्पर्कमा रहेका, सुरक्षित स्थानमा सारिएका, बेपत्ता, मृतक तथा अज्ञात अवस्थामा रहेका व्यक्तिको स्पष्ट र अद्यावधिक तथ्याङ्क तत्काल संकलन गर्न माग गरेका छन्।

नागरिकमा सरकारको उपस्थितिको आभास दिलाउन र विपद् व्यवस्थापनमा सरकारलाई सदनप्रति जवाफदेही बनाउन रोकिएको संसद् बैठक तत्काल सुचारु गर्न कांग्रेसले आग्रह गरेको छ।

साथै, खोजी, उद्धार, राहत र पुनःस्थापनाको कामलाई निष्पक्ष र पारदर्शी बनाउन सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत गरिएको छ। सत्तासीन दलका सभापतिले सहकार्यका लागि गरेको पहललाई सकारात्मक मान्दै त्यसलाई थप प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *