बाढीपीडितको पहिचानका लागि नेपालले सिंगापुरसँग माग्यो प्राविधिक सहयोग

डिसी नेपाल
१५ भदौ २०८३ १५:४९

काठमाडौं। नेपालले हालैको विनाशकारी बाढीपछि बेपत्ता तथा मृतकको पहिचान गर्न सिंगापुरसँग प्राविधिक सहयोग मागेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा बाढी तथा पहिरोबाट प्रभावित व्यक्तिहरूको पहिचानका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सिंगापुरसँग अनुरोध गरिएको जानकारी दिए।

उनका अनुसार बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका र विभिन्न स्थानमा पहिचान हुन नसकेका शव फेला परेकाले पीडितको यकिन पहिचान गर्न अत्याधुनिक प्रविधि र उपकरण आवश्यक परेको हो।

नेपालले यसका लागि अमेरिकासँग डीएनए परीक्षणसम्बन्धी सहयोग मागेको छ। त्यस्तै, आवश्यक उच्च क्षमताका उपकरण उपलब्ध गराउन चीन र सिंगापुरसँग पनि अनुरोध गरिएको प्रवक्ता क्षेत्रीले बताए।

बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यसँगै बेपत्ता व्यक्तिको खोजी र मृतकको पहिचानलाई सरकारले प्राथमिकतामा राखेको छ। पहिचान हुन नसकेका शवको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारजनलाई जिम्मा लगाउने तयारीसमेत भइरहेको मन्त्रालयले जनाएको छ।

यसैबीच, जापान र दक्षिण कोरियाबाट पनि विपद् व्यवस्थापन तथा खोज तथा उद्धारका लागि आवश्यक विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सरकारले विदेशी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, स्वास्थ्य उपचार तथा बेपत्ताको खोजीलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *