भोटेकोशी बाढी: रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सुचारु
काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधारको पुनःस्थापना तथा प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्ने काम तीव्र पारिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी प्रभावित रसुवाका अधिकांश स्थानीय तहमा विद्युत् सेवा सुचारु भइसकेको छ। नौकुण्ड, कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आइसकेको छ भने बाँकी क्षेत्रमा मर्मत तथा वैकल्पिक व्यवस्थामार्फत विद्युत् विस्तार गर्ने काम भइरहेको छ।
त्यसैगरी नुवाकोटको किस्पाङ गाउँपालिकामा अवरुद्ध विद्युत् सेवा मर्मत सम्पन्न गरी पुनः सञ्चालनमा ल्याइएको छ। सान्जेनखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रवाह सुचारु गर्ने काम भइरहेको छ भने हाकु क्षेत्रमा नयाँ ११ केभी लाइन निर्माण गरी सेवा विस्तार गर्ने तयारी गरिएको छ।
यसैबीच, बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेना, भारतीय सेना, कोरियन विज्ञ तथा आयोजनाका इन्जिनियर सम्मिलित संयुक्त टोलीले सुरुङभित्र रेकी, ब्लास्टिङ, होल निर्माण तथा लेदो पन्छाउने काम गरिरहेको छ। उद्धारको पछिल्लो अवस्थाबारे नेपाली सेनाले ऊर्जा र पूर्वाधार मन्त्रीलाई ब्रिफिङसमेत गरिसकेको छ।
उता, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको समन्वयमा नुवाकोटको विदुरबाट घरेलु तथा संस्थागत सौर्य विद्युत् प्रणालीहरू प्रभावित क्षेत्रमा ढुवानी गरी जडान गर्ने कार्य भइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment