मन्त्रालयबाट स्रोत परिचालन छाडेर गृहमन्त्री सुरुङ खोस्रिन पुगे: महेश बस्नेत
काठमाडौं। नेकपा (एमाले)का सचिव महेश बस्नेतले देशमा आइपरेको विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यमा सरकार पूर्ण रूपमा असफल भएको भन्दै कडा आलोचना गरेका छन्।
शुक्रबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका हुन्।
देश ठूलो विपद्को सामना गरिरहँदा सरकारका नेतृत्वकर्ताहरूले प्राथमिकता नै नबुझी काम गरिरहेको टिप्पणी बस्नेतले गरे। प्रधानमन्त्री शाहले संसद्मा आश्वासन र भाषण मात्र दिएको तर प्रत्यक्ष रूपमा फिल्डमा पुगेर उद्धार र राहतमा कुनै ठोस खटाइ नदेखाएको उनको आरोप छ।
गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि व्यङ्ग्य गर्दै बस्नेतले भने, “केन्द्रमा बसेर नीतिगत निर्णय र स्रोतसाधनको परिचालन गर्नुपर्ने गृहमन्त्री आफैँ सुरुङमा गएर औँलाले खोस्रिएर बसिरहेका छन्। हामीसँग भएका स्रोतसाधनको सदुपयोग गरिएको छैन र आवश्यक विदेशी सहयोग पनि लिइएको छैन।”
सरकारको ढिलासुस्ती र अदूरदर्शिताका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको दाबी गर्दै उनले विपद्को १० दिनपछि मात्र सुरुङबाट दुई जनाको जीवितै उद्धार हुनुले नै उद्धार कार्य प्रभावकारी नभएको पुष्टि गर्ने बताए। समयमै र सही ढङ्गले उद्धार टोली खटाइएको भए सयौँ नागरिकको ज्यान बचाउन सकिने उनको भनाइ छ।
नागरिकले संकटका बेला सरकारको उपस्थिति महसुस गर्न नपाएको उल्लेख गर्दै एमाले सचिव बस्नेतले तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता र प्रभावकारिता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment