‘वासु’ र ‘बैरागी’को बलिदानले जनयुद्धलाई नयाँ उचाइ दियो: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्याउन निर्णायक भूमिका खेलेको बताएका छन्।
काठमाडौँमा आयोजित दुवै शहीदको २७औं स्मृति सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले २०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले प्राप्त गरेको सहादत नेपाली क्रान्तिकारी आन्दोलनका लागि ऐतिहासिक मोड भएको उल्लेख गरे।
पार्टीको पोलिटब्युरो तहको उच्च नेतृत्व पंक्तिबाट भएको सो सहादतले तत्कालीन राज्यसत्ताविरुद्ध जनता र क्रान्तिकारी पंक्तिमा ठूलो आक्रोश र नयाँ संकल्प पैदा गरेको उनको भनाइ थियो।
प्रचण्डले सुरेश वाग्लेको निष्ठा, आदर्श र राजनीतिक उचाइ निकै माथि रहेको स्मरण गर्दै उनको बलिदानपछि प्राप्त ऊर्जाले आन्दोलनलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न मद्दत पुर्याएको बताए। साथै, उनले जनमुक्ति सेनाका कुशल कमान्डर भीमसेन पोखरेलको योगदान र आदर्श पनि क्रान्तिकारी यात्रामा उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे।
शहीदहरूको त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि विभिन्न प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै प्रचण्डले चिन्ता व्यक्त गरे। आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने प्रयास भइरहेकाले त्यसका विरुद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुनेमा उनले जोड दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment