इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण ३ हजार उडान प्रभावित, साढे तीन लाख यात्रु अलपत्र
काठमाडौं । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि करिब ३,००० उडानहरू प्रभावित भएका छन्। विमानस्थलहरूको सञ्चालन लगातार दोस्रो दिन पनि बन्द रहँदा ३ लाख ४० हजारभन्दा बढी यात्रुहरू अलपत्र परेका छन्।
राजधानी जाकार्ताबाट करिब १५० किलोमिटर टाढा रहेको ‘अनाक क्राकाटाउ’ ज्वालामुखीमा शुक्रबार अबेर राति भीषण विस्फोट सुरु भएको थियो।
विस्फोटपछि लाभाका फोहोराहरू निस्कन थालेका छन् भने ज्वालामुखीबाट उठेको खरानी राजधानी जाकार्ता र लाम्पुङ प्रान्तसम्म पुगेको छ।
जाकार्तास्थित सोएकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल स्थानीय समय अनुसार बिहान छ बजे पुनः सञ्चालनमा ल्याउने योजना बनाइएको थियो, तर आकाशमा ज्वालामुखीय खरानी कायमै रहेकाले त्यसलाई स्थगित गरिएको छ।
विमानस्थल प्रशासनले एक विज्ञप्ति जारी गर्दै सोमबार राति करिब १२ बजेदेखि मात्र उडानहरू पुनः सुरु हुने जनाएको छ।
नागरिक तथा सैन्य उडानका लागि प्रयोग हुँदै आएको सानो ‘हलिम पेरदानाकुसुमा’ विमानस्थल पनि त्यतिन्जेलसम्मका लागि बन्द रहनेछ।
सोमबार जाकार्ताको सोएकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष (डिपार्चर हल) मा यात्रुहरूको लामो लाइन लागेको थियो।
अलपत्र परेका यात्रुहरू टिकटको रकम फिर्ता (रिफन्ड) लिन र उडानहरू कहिलेदेखि सञ्चालन हुन्छन् भन्ने जानकारी लिन लाइनमा उभिएका थिए।
फिन्ना नामकी एक यात्रुले आइतबार बिहान पूर्वी जाभाको मलाङ सहरबाट जाकार्तास्थित आफ्नो घर फर्कनुपर्ने थियो।
उनका अनुसार विमानस्थलमा निकै भद्रगोलको स्थिति थियो र उडानको समय बारम्बार परिवर्तन भइरहेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment