मानव अधिकार आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न भीष्मराज आङदेम्बेको माग

डिसी नेपाल
२३ भदौ २०८३ ११:२८

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं संसदीय दलका नेता भीष्मराज आङदेम्बेले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेका छन्।

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै नेता आङदेम्बेले आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले आफ्नो कर्तव्यपालनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीहरूप्रति पनि उच्च सम्मान व्यक्त गरेका छन्।

युवाहरू भ्रष्टाचार, बेथिति, नातावाद, कुशासन र निराशाविरुद्ध सडकमा उत्रिएको उल्लेख गर्दै उनले यो आन्दोलन केवल सरकार परिवर्तनका लागि मात्र नभई सुशासन, जवाफदेहीता, पारदर्शिता, रोजगारी र नयाँ राजनीतिक संस्कारको खोजीका लागि भएको बताएका छन्।

भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा घुसपैठ गराई हिंसात्मक बनाइएको, तत्कालीन सरकारले अत्यधिक बल प्रयोग गरेको र भोलिपल्ट २४ गते आगजनी तथा विध्वंस हुँदा ठूलो जनधनको क्षति भएको आङदेम्बेको भनाइ छ।

मानव अधिकार आयोगले घटनाको अनुसन्धान गरी घुसपैठ गर्ने, अत्यधिक बल प्रयोग गर्ने तथा २४ भदौको विध्वंसमा संलग्न सबै पक्षमाथि कारबाही गर्न सिफारिस गरिसकेकाले सो प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गर्नुपर्ने उनले बताएका छन्।

सत्ता नेतृत्वबाटै केही पात्रलाई जोगाउने प्रयास भएको आशङ्का व्यक्त गर्दै आङदेम्बेले आयोगको यो प्रतिवेदन गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनभन्दा बढी विश्वसनीय रहेको दाबी समेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *