भोटेकोशी बाढीपीडितका लागि नेपाल टेलिकमका कर्मचारीद्वारा दुई करोडभन्दा बढी सहयोग
काठमाडौं। गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमका कर्मचारीहरूले दुई करोडभन्दा बढी रकम सहयोग गरेका छन्।
कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूतर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु २,०२,२६,०६६ (दुई करोड दुई लाख छब्बीस हजार छ्यालीस रुपैयाँ) जम्मा गरी मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
सो रकम नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले एक कार्यक्रमका बीच अर्थमन्त्रीलाई हस्तान्तरण गरेकी हुन्।
विभिन्न तहमा कार्यरत कर्मचारीहरूको तलबबाट तहगत योगदानका आधारमा सो रकम कट्टा गरी कोषमा जम्मा गरिएको नेपाल टेलिकमले जनाएको छ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय, कर्मचारी प्रतिनिधि लोक बहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको उपस्थिति रहेको थियो।
यसअघि पनि प्राकृतिक विपद्को समयमा व्यक्तिगत तथा सामूहिक रूपमा सहयोग गर्दै आएका कर्मचारीहरूको यस योगदानले बाढीपीडितको राहत र पुनःस्थापनामा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच नेपाल टेलिकमले संस्थागत रूपमा पनि कम्पनीकातर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम केही दिनभित्रै उपलब्ध गराउने जनाएको छ। विपद्का बेला दूरसञ्चार सेवाको निरन्तरता कायम राख्दै राहत तथा उद्धार कार्यमा यथासक्य सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment