अमेरिका-इरान सैन्य टकराव चर्कियो : हर्मुज जलघाँटी तनावग्रस्त, विश्व बजारमा तेलको मूल्य वृद्धि

डिसी नेपाल
२४ भदौ २०८३ ११:२८

वासिंटन। इरान र संयुक्त राज्य अमेरिकाबीच छ महिनाभन्दा लामो समयदेखि जारी युद्ध र सैन्य तनाव फेरि चरम उत्कर्षमा पुगेको छ।

आफ्ना जहाजमाथि अमेरिकी आक्रमणको जवाफी कारबाहीस्वरूप इरानले हर्मुज जलघाँटीमा अमेरिकी जहाज तथा तेल ट्यांकरहरूलाई लक्षित गर्नुका साथै जोर्डनस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरेको छ।

लगातारका आक्रमण र प्रत्याक्रमणले मध्यपूर्वको सुरक्षा, जलमार्ग र विश्वव्यापी ऊर्जा आपूर्तिमाथि गम्भीर जोखिम सिर्जना गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले हर्मुज जलघाँटीबाट पार गर्न खोजिरहेका दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० वटा ‘गैर–अनुपालन’ जहाजहरूलाई निशाना बनाएको जनाएको छ।

साथै इरानले कुवेत र बहराइनका बन्दरगाहमा रहेका तेल ट्यांकरमाथि समेत आक्रमण गर्ने चेतावनी दिँदै चालक दलका सदस्यहरूलाई जहाज छाड्न आग्रह गरेको छ।

जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले प्रहार गरेका १८ वटा ब्यालेस्टिक क्षेप्यास्त्रलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले आकाशमै रोकिदिएको जोर्डनको सेनाले जनाएको छ।

अन्य दुईवटा क्षेप्यास्त्र भने मानव बस्ती नभएका क्षेत्रमा खसेका थिए, जसबाट कुनै मानवीय क्षति भएको छैन। अमेरिकी सेनाको उपस्थिति रहेको जोर्डनमा इरानी आक्रमण पहिले पनि हुने गरेको थियो।

यसअघि, मङ्गलबार अमेरिकी युद्धपोतमाथि इरानी तेलवाहक जहाजबाट ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि जवाफी कारबाहीस्वरूप अमेरिकी सेनाले इरानका पाँचवटा तेल ट्यांकर ध्वस्त पारेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ।

अमेरिकी सेनाले गत शनिबार पनि इरानका तीनवटा तेल ट्यांकर नष्ट गरेको थियो। इरानी सञ्चारमाध्यमका अनुसार खर्ग टापुनजिकै एउटा सानो तेल ट्याङ्करमा अमेरिकी क्षेप्यास्त्र प्रहार भएको छ भने जास्क बन्दरगाहमा विस्फोट भएको छ।

तनाव बढेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि आर्थिक र रणनीतिक दबाब थप कडा बनाएको छ। अमेरिकी अर्थ मन्त्रालयले इरानको उड्डयन क्षेत्रमार्फत हतियार, कर्मचारी र अवैध कार्गो ओसारपसारमा सहयोग पुर्याएको आरोपमा ३६ वटा व्यक्ति तथा संस्थामाथि प्रतिबन्ध लगाएको छ।

यसका साथै इरानलाई बाँकी रहेका व्यापारिक साझेदारबाट अलग पार्ने उद्देश्यले दुई दर्जनभन्दा बढी व्यावसायिक, निजी र विदेशी मालवाहक विमान सेवा प्रदायकहरूलाई लक्षित गर्दै हवाई क्षेत्रमा थप प्रतिबन्ध लगाइएको छ।

इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अली अब्दुल्लाहिले आफ्ना तेल ट्यांकरमाथि आक्रमण भए यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाउने चेतावनी दिनुभएको थियो।

यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका आक्रमणलाई कुनै जवाफबिनै छाड्न नसकिने बताउँदै यमनका हुथी विद्रोहीले साउदी अरबमाथि गरेको आक्रमणमा पनि इरानकै हात रहेको आरोप लगाउनुभएको छ। चार वर्षको युद्धविरामपछि यमनमा पुनः द्वन्द्व चर्किँदा हुथीहरूले लाल सागरको प्रवेशद्वार बाब अल-मन्डबनजिकै आक्रमण तीव्र पारेका छन्।

यसैबिच इरानले अमेरिकी मानवरहित पनडुब्बी र एमक्यू-१ ड्रोन नष्ट वा कब्जा गरेको दाबी गरेको छ। अमेरिकी सेनाले भने पानीमुनि ड्रोनमा प्राविधिक खराबी आएको र त्यसमा कुनै संवेदनशील सूचना नरहेको स्पष्ट पारेको छ।

युद्ध सुरु हुनुअघि विश्वमा खपत हुने कुल तेलको करिब २० प्रतिशत ओसारपसार हुने हर्मुज जलघाँटीमा सम्भावित अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य तीव्र रूपमा बढेको छ।

एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.४६ अमेरिकी डलर र वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य ९४.४५ डलरसम्म पुगेको छ। लगातारको सैन्य भिडन्तले मध्यपूर्वको समग्र सुरक्षा परिस्थिति थप जटिल बन्दै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *