कृष्णभीर पहिरोले बुलेट रोकिएपछि काठमाडौँ पठाइयो ५३ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर
LPG-GAs - 1
चितवन। कृष्णभीरमा पहिरोका कारण ग्यास बोकेका बुलेट काठमाडौँ जान नसकेपछि उपत्यकामा ग्यास अभाव हुन नदिन विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय सदस्य विमल कालाखेतीका अनुसार चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट सिलिन्डर भरेर बुधबार काठमाडौँ पठाइएको हो। सडक अवरुद्ध हुँदा बुलेटमार्फत ग्यास आपूर्ति प्रभावित भएपछि उद्योगहरूले उपलब्ध सिलिन्डरमा ग्यास भरेर उपत्यकातर्फ पठाउन थालेका हुन्।
चितवनस्थित नेपाल ग्यास उद्योग, नारायणीबाट मात्रै विभिन्न कम्पनीका चार हजार ५४३ सिलिन्डर काठमाडौँ पठाइएको छ। तीमध्ये एचपीका एक हजार २१३, नेपाल ग्यासका एक हजार ६७८, गीताका १४० र सागरका एक हजार ५१२ सिलिन्डर रहेका छन्।
त्यस्तै, धनुषास्थित नोबेल ग्यास उद्योगबाट सागर उद्योगका पाँच हजार ६१८ सिलिन्डर भरेर काठमाडौँ पठाइएको कालाखेतीले जानकारी दिए।
बारास्थित ग्यास उद्योगहरूबाट पनि ठूलो परिमाणमा सिलिन्डर पठाइएको छ। ग्यास वन (एनएल) उद्योगबाट सीताश्री उद्योगका एक हजार ६०९, जगदम्बा ग्यास उद्योगबाट मेट्रो एसटिसी र सूर्य उद्योगका दुई हजार १२१, लियो ग्यास उद्योगबाट उग्रचण्डी र श्रीमाया उद्योगका तीन हजार १८१ तथा अम्बर ग्यास उद्योगबाट सिद्धार्थ र मेट्रो एसटिसी उद्योगका एक हजार ९२ सिलिन्डर भरेर काठमाडौँ पठाइएको छ।
पर्सास्थित सुपर ग्यास उद्योगबाट हिमाल कम्पनीका ६६३ सिलिन्डर तथा मनोज ग्यास उद्योगबाट उग्रचण्डी र मेट्रो एसटिसीका एक हजार ३७ सिलिन्डर पठाइएको छ। मकवानपुरको सहारा ग्यास उद्योगबाट एभरेष्ट र सुगम कम्पनीका सात हजार ८७७ सिलिन्डर भरेर उपत्यका पठाइएको छ।
चितवनस्थित नेपाल ग्यास उद्योग गण्डकीबाट एपी, नेपाल र गीता उद्योगका सात हजार ३४८ सिलिन्डर पठाइएको छ। यस्तै, साइबाबा ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबा उद्योगका पाँच हजार ३३७ तथा बाबा ग्यास उद्योगबाट श्री ग्यासका आठ हजार ७१६ सिलिन्डर काठमाडौँ पठाइएको कालाखेतीले बताए।
नवलपुरस्थित जानकी ग्यास उद्योगले श्रीराम र ओम उद्योगका दुई हजार ६४२ सिलिन्डर तथा नवलपरासीस्थित चण्डेश्वरी ग्यास उद्योगले सागर उद्योगका एक हजार ६८५ सिलिन्डर भरेर काठमाडौँ पठाएका छन्।
कृष्णभीरमा पहिरो गएपछि ग्यासका बुलेट काठमाडौँसम्म पुग्न नसक्दा उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित हुने जोखिम बढेको थियो। त्यसलाई मध्यनजर गर्दै विभिन्न जिल्लामा रहेका उद्योगबाट सिलिन्डरमै ग्यास भरेर काठमाडौँ पठाउने व्यवस्था गरिएको हो।
उद्योगीहरूका अनुसार यसरी विभिन्न जिल्लाबाट सिलिन्डर पठाइएकाले तत्कालका लागि उपत्यकामा ग्यासको अभाव हुन नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment