इरानको आक्रमणमा ८ अमेरिकी लडाकु विमान क्षतिग्रस्त

डिसी नेपाल
२५ भदौ २०८३ ११:२५

काठमाडौं । जोर्डनस्थित मुवाफ्फक साल्टी एयर बेसमा बुधबार बिहान इरानले मिसाइल आक्रमण गरेको छ।

सिबिएस न्युजका अनुसार उक्त आक्रमणमा परि कैयौँ अमेरिकी सैन्य विमानहरू क्षतिग्रस्त भएको खबर छ।

रिपोर्ट अनुसार आक्रमणमा करिब आठ वटा ‘एफ-१५’ लडाकु विमानमा सामान्य क्षति पुगेको छ। मर्मतसम्भारपछि ती विमानहरूलाई पुनः अमेरिकी वायुसेनाको फ्लिटमा समावेश गरिसकिएको स्रोतहरूले जनाएका छन्।

स्रोतका अनुसार आक्रमणमा एक ‘ए-१० थन्डरबोल्ट’ विमान पनि मिसाइलको चपेटामा परेको थियो। उक्त विमानको एउटा पङ्खा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। ‘ए-१०’ लाई सामान्यतया ‘वर्थग’ नामले पनि चिनिन्छ।

सिबिएस न्युजसँग कुराकानी गर्दै गुप्तचर स्रोतहरूले यस आक्रमणमा कुनै पनि अमेरिकी सैनिकको ज्यान नगएको बताएका छन्। यद्यपि, विषयको संवेदनशीलताका कारण उनीहरूले नाम नछाप्ने सर्तमा यो जानकारी दिएका हुन्।

प्रतिवेदन अनुसार इरानी आक्रमणको जवाफ दिन जोर्डनमा तैनाथ अमेरिकी बलले ३० भन्दा बढी ‘प्याट्रियट’ मिसाइलहरू प्रहार गरेका थिए।

उल्लेखनीय छ कि इरानी कारबाहीअघि अमेरिकाले इरानका पाँच वटा तेल ट्याङ्करहरूलाई निशाना बनाएको जानकारी दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *