अतिरिक्त ग्यास सिलिन्डर सञ्चय नगर्न आयल निगमको आग्रह

डिसी नेपाल
२८ भदौ २०८३ २१:५९

काठमाडौं । नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न र अनावश्यक रूपमा अतिरिक्त सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।

निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेको स्पष्ट पारेको हो। निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन (करिब ३७ लाख १३ हजार ६९४ सिलिन्डर बराबर) एलपी ग्यास आयात भइसकेको छ। त्यस्तै इन्डियन आयल कर्पोरेसन (आइओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० सम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको जनाइएको छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि तराईका उद्योगमा ग्यास रिफिल गरी वैकल्पिक व्यवस्थामार्फत काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको छ।

भदौ १८ देखि २७ गतेसम्म त्रिभुवन राजपथ तथा बीपी राजमार्ग हुँदै करिब ३ लाख ९१ हजार ५२१ वटा सिलिन्डर उपभोक्तासम्म पुर्‍याइएको र हाल दैनिक औसत ४० हजार सिलिन्डर वितरण भइरहेको निगमले जनाएको छ।

भदौ १० गतेको बाढीबाट प्रत्यक्ष असर परेका रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रहरूमा प्राथमिकताका साथ ग्यास वितरणमा समन्वय गरिएको छ।

यसैगरी, काठमाडौं उपत्यकामा ग्यास वितरण गर्ने उद्योगहरूले आफ्नै प्लान्टबाट रिफिल गरी बजारमा पठाइरहेकाले आपूर्ति अवस्था क्रमशः थप सहज हुँदै जाने निगमको दाबी छ। कृष्णभीरको सडक पूर्ण रूपमा सञ्चालनमा आउनासाथ आइओसीका ग्यास बुलेटहरू नियमित रूपमा काठमाडौँ प्रवेश गर्नेछन्।

ग्यास आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन निगमले उच्चस्तरीय समन्वय टोली गठन गरेको छ। सिलिन्डर लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध गृह मन्त्रालयसँग समन्वय गरी निगरानी बढाइएको र अनुगमनका क्रममा अनियमितता गर्ने विक्रेताहरूलाई नियमानुसार जरिवानासहित कारबाही गरिसकिएको निगमले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *