टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको पूजाका लागि भक्तजनको घुइँचो
पूजाअर्चना गर्दै भक्तजन
काठमाडौँ ३० भदौः काठमाडौँ महानगरपालिका– १२ टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिर परिसरमा मङ्गलबार धूप बत्ती अर्पण गदै भक्तजन। तस्बिरः हरिराम भेटुवाल÷रासस
काठमाडौं। काठमाडौं महानगरपालिका-१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीका अवसरमा मङ्गलवार बिहानैदेखि विशेषगरी महिला भक्तजनको बाक्लो घुइँचो लागेको छ। प्रत्येक वर्ष यस दिन मन्दिर परिसरमा ठूलो मेला लाग्ने भएकाले पूजाअर्चना र दर्शनका लागि श्रद्धालुहरूको ठूलो उपस्थिति रहेको हो।
मेलालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरी तथा काठमाडौँ महानगरपालिकाका सुरक्षाकर्मी परिचालन गरिएको छ।
स्थानीय वडा कार्यालयले मेलालाई लक्षित गरी मन्दिर र आसपासका सम्पदास्थलहरूको सरसफाइ, रङरोगन तथा सडकबत्तीको उचित व्यवस्थापन गरेको छ। भक्तजनको सहजताका लागि ५० भन्दा बढी धार्मिक तथा सामाजिक संस्थाहरूसँग समन्वय गरिएको छ।
दर्शनार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र महानगरको स्वास्थ्य विभागको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
पूजाका क्रममा कसैलाई स्वास्थ्य समस्या देखिएमा तत्काल उपचारका लागि स्वास्थ्य सेवासहित एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको वडाध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिनुभयो।
वडाध्यक्ष महर्जनका अनुसार सबेरैदेखि खोलिएको मन्दिरमा भीड व्यवस्थापनका लागि सुरक्षाकर्मीका साथै ठूलो सङ्ख्यामा स्वयंसेवकहरू खटाइएको छ।
मेलाका कारण हुनसक्ने सवारी चापलाई नियन्त्रण गर्न टेकु, कुलेश्वर र सानेपा क्षेत्रमा विशेष यातायात व्यवस्थापन मिलाउँदै चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment