जलवायु संकट र भोटेकोशी बाढीको समीक्षा गर्दै मुस्ताङमा घरपझोङ सम्मेलन
प्रधानमन्त्री शाहद्वारा शुभकामना सन्देश
मुस्ताङ। जलवायु परिवर्तनले पारेको असर र चुनौतीबारे छलफल गर्न मुस्ताङको घरपझोङ गाउँपालिकामा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ मंगलवारदेखि सुरु भएको छ। गाउँपालिकाद्वारा आयोजित उक्त सम्मेलनको उद्घाटन संघीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्नुभएको हो।
उद्घाटन समारोहअघि जोमसोमस्थित गाउँपालिका कार्यालयमा भेला भएका सातै प्रदेशका जनप्रतिनिधि तथा अतिथिहरू सांस्कृतिक झाँकीसहित सम्मेलनस्थल कभर्डहल पुगेका थिए।
सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाउनुभएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको पालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न जिल्लाका डेढ दर्जनभन्दा बढी स्थानीय तहका जनप्रतिनिधिहरूले सम्बोधन गर्ने क्रममा हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनले पारेको बहुआयामिक प्रभावबारे चर्चा गर्नेछन्।
हरितगृह ग्यास उत्सर्जनका कारण बढ्दै गएको तापमान वृद्धि, कृषि, पशुपालन, पर्यटन, पूर्वाधार तथा पर्यावरण क्षेत्रमा सिर्जित जोखिम र अनुकूलनका उपायहरू सम्मेलनका मुख्य एजेन्डा रहेका छन्। साथै, सम्मेलनमा भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिको समेत समीक्षा गरिनेछ।
विश्वव्यापी चिन्ताको विषय बनेको जलवायु सङ्कट न्यूनीकरण गर्न स्थानीय तहहरूले अपनाउनुपर्ने भावी रणनीति तय गर्दै सम्मेलनको समापनमा ‘जलवायु घोषणापत्र २०८३’ जारी गरिने आयोजकले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment